डा. केसीलार्इ हाइपोक्यालेमिया



Download our app to get more features

जुम्ला, १ साउन । १८ दिनदेखि अनशनमा रहदै आएका डा. गोविन्द केसीलार्इ हाइपोक्यालेमिया भएको छ । वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानकाबीच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाहा पाउन सकिएको थिएन ।

वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा  हाइपोक्यालेमिया देखिएको हो । चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाइ हाइपोक्यालेमिया भनिन्छ ।मानव शरिरमा पोटासियम, मुटुको चाललाई  ठिक ठाउँमा राख्न र अन्य मांसपेशीहरुलाई समेत स्वस्थ राख्न आवश्यक पर्छ । यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास , मुटु र मिर्गौलामा समेत गम्भीर असरहरु देखा पर्छ ।

हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरु कमजोर भएको महशुस गर्छन्। खुट्टाबाट सुरु हुने यस किसिमको कमजोरी विस्तारै शरीरको माथिल्लो भाग तर्फ सर्दछ । उठ्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा. केसीमा देखिदै आएको छ । पोटासियमको कमी भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तनहरु आउँछ्न जसका कारण पेट दुख्ने, वाक्वाकी लाग्ने समस्याहरु देखिन थाल्छन् जुन डा. केसीमा विगत केही दिनयता झन थपिदै गइरहेको छ ।

यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास, मिर्गौला र मुटुमा देखिन्छ । रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् जसका कारण बिरामीलाइ सास फेर्न अप्ठ्यारो हुने र केही दिन भित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ । यहि जोखिमलाइ मध्यनजर गर्दै अनशन स्थलमा अस्पतालले भेन्टिलेटर स्ट्यान्डबाइ राखेको छ ।पोटासिमयमको कमिले डा. केसीको मिर्गौलामा पनि असर पुर्याउन सक्छ । यदि त्यो अवस्था आएमा स्थिती थप जटिल हुने चिकित्सकहरु बताउँछन् । 

उपचारमा संलग्न डा. धिरज गुरुङ  डा।केसीलाइ हाइपोक्यालेमिया भएसँगै मुटुको चाल बिग्रने हो कि भन्ने डरले चिन्तित छन् । आज दिउँसो जारी विज्ञप्तिमा उपचाररत चिकित्सकहरुले भनेका छन् 'डा. केसीलाई विगतमा पनि  एरिदमिया (मुटुको चालमा गढबढी) देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा आजको रिपोर्ट अनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गढबढी आइ धड्कन नै बन्द हुनसक्ने देखिएको छ ।'

मुटुको चालमा आउनसक्ने गढबढीलार्इ ध्यानमा राख्दै अनशन स्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ ।  तर, यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा. केसीलार्इ सिसियुमै राखेर उपचार गर्नु पर्ने  चिकित्सकहरुको सुझाव छ ।

Last modified on 2018-07-18 07:30:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts