बिरामीको मृत्युपछि सुमेरु अस्पताल तनावग्रस्त



Download our app to get more features

ललितपुर, ३ साउन । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा २६ वर्षीया मनिषा निरौलाको मृत्यु भएपछि उनका आफन्तले आज बिहानैदेखि अस्पतालमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ । 

बिरामीका आफन्तले अस्पताल र चिकित्सकको लापर्वाहीका कारण मनिषाको मृत्यु भएको आरोप लगाएका छन् । तर, अस्पताल प्रशासनले भने उनको मृत्यु लुपस रोगका कारण भएको जनाएको छ । 

अस्पताल स्रोतका अनुसार लुपसको जटिलताका कारण मनिषाको मृत्यु भएको हो । मनिषा १० दिनअघि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन । लुपस नामक रोगका कारण उनको फोक्सोमा रक्तश्राव हुन थालेपछि भेन्टिलेटरमा राखिएको थियो । तर, उनको शरीरमा र रगतमा अक्सिजनको मात्रा निकै कम भएका कारण बुधबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. डी भी कार्कीले हाम्रो डक्टरलाई बताए । डा. कार्कीले भने ‘लुपसका कारण बिरामीको मस्तिष्क, मिर्गाैला र पछि फोक्सोमा असर गर्दा उनको उपचार असम्भव भएको हो ।’ 
उनका अनुसार लुपस यस्तो रोग हो जसले शरीरका विभिन्न भागमा एकै पटक असर गर्छ । 

मनिषाको पनि सुरुमा मस्तिष्कमा असर गरेको र छारे रोगले छोएको उनको भनाइ छ । यद्यपि, औषधि दिएर त्यसलाई नियन्त्रण गरेको उनको बताए । तर पछि फोक्सोमा समेत लुपसले असर पार्दा उपचार सम्भव नभएको उनले बताए । डा.कार्कीले भने, ‘फोक्सोबाट रक्तश्राव हुँदा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनको जटिलता निकै बढ्यो र उनको रगत तथा शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाँदा मृत्यु भयो ।’

अस्पतालले दिदीको ज्यान लियो: मृतकका भाई

मृतकका भाई मनिष निरौलाले सामाजीक सञ्जालमार्फत अस्पतालले दीदीको हत्या गरेको आरोप लगाएका छन् । उनले उपचारका नाममा डाक्टरहरुले अनेक प्रयोग गरेर दिदीको ज्यान लिएको बताएका छन् । उनले लेखेका छन्, ‘एक महिनासम्म हामी उपचार गर्दैछौं निको हुँदैछ भनेर दिदीलाई अन्त्य लान पनि दिएनन् र पछि एकै पटक दिदीको मृत्यु भएको घोषणा गरे ।’ 
 

Last modified on 2018-07-20 08:15:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts