बूढानीलकण्ठ नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण



Download our app to get more features

काठमाडौँ, ७ साउन । बूढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा रु एक करोडको लागतमा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण गरिएको छ । विसं २०७२ मा गएको भूकम्पले भवन क्षतिग्रस्त भएपछि छ महिनाअघि ग्लोबल शेर्पस काठमाडौँले भवन निर्माणको जिम्मा पाई निर्माण गरेको हो । 

भवन हस्तान्तरण कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी हुन नसकेकाले लगानी बढाइने बताए । उनले संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरी जनताको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याइने बताए ।

उनले भने, “स्वास्थ्य राज्यको पहिलो प्राथमिकता हो, प्रदेश सरकारले स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरेका छौँ ।” 

निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकार एक्लैको प्रयासले मात्र स्वस्थ समाजको निर्माण गर्न नसक्ने भएकाले सामुदाय र नागरिक समाजको सक्रियता पनि आवश्यक भएको बताए ।

छ महिनाको समयावधिमा निर्माण भएको भवन आइतबार बूढानीलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरिएको हो । रासस

Last modified on 2018-07-23 07:04:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts