स्वास्थ्य र अस्पताललाई व्यापार बनाउनु हुँदैनः मन्त्री यादव



Download our app to get more features

काठमाडौं, ६ साउन । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्र भित्रको ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने बताए ।

‘स्वास्थ्य क्षेत्रमा व्याप्त सिण्डिकेट र ठेक्का प्रथा अन्त्य गर्नै पर्छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा औषधिको गुणस्तरमा कुनै सम्झौता गर्न सकिन्न ।’ मन्त्री यादवले औषधिको गुणस्तर र प्रभावकारीताको अनुगमन गरिने बताए ।

उनले औषधिको गुणस्तरमा सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिने बताए । गाउँलाई आधार बनाई बिरामी जनतालाई गाउँमै सेवा दिनुपर्ने भन्दै उनले भने, ‘चिकित्सकहरू शहरमा बस्छन् ।

गाउँमा नबस्दा स्वास्थ्य सेवा लिनबाट गरिब जनता बञ्चित हुनुपर्ने अवस्था आएको छ । अस्पताल नजाने डाक्टरको प्रवृत्ति बन्द हुनुपर्छ । जनताले सेवा गाउँमै पाउनुपर्छ ।’ काठमाडौंभित्र पनि थुप्रै गाउँठाउँ दुर्गम जस्तै अवस्थामा रहेको उनले बताए ।

‘जहाँ राज्यको ध्यान पुग्न सकेको छैन’, उनले थपे, ‘दुर्गम स्थानमा पनि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा र उपचार पुर्याउनुपर्छ यो राज्यको दायित्व हो ।’ उनले जनता स्वास्थ्य नभएसम्म देश नबन्ने भन्दै स्वास्थ्य र शिक्षालाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

‘प्रदेश सरकारले पनि स्वास्थ्य संस्था र सेवा जस्ता आधारभुत सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरेका छौँ’ उनले भने । केन्द्र, प्रदेश र स्थानीयस्तरबीच सहकार्य गरेर जनताको घरदैलोमै स्वास्थ्य सुविधा पर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।

‘ग्लोवल सेयर्स काठमाडौं’ले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन मन्त्री यादवले बुढानिलकण्ठ नगरपालिकालाई हस्तारन्तर गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts