शिक्षण अस्पतालका आवासीय चिकित्सकद्वारा आकस्मिक तथा आईसियू बाहेकका सेवा ठप्प



Download our app to get more features

काठमाण्डौ । शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययनरत आवासीय चिकित्सकहरुले डा. केसीका मागमा सरकार उदासिन भएको र सार्थक वार्ता नभएको भन्दै विरोधस्वरुप आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरेका छन् । 

शिक्षण अस्पतालमा आज भेला गरी उनीहरुले आकस्मिक र आइसियुका बाहेक सेवा बहिष्कार गरेको विज्ञप्ति सार्वजानिक गरेका हुन् । उनीहरुले आफ्ना रचनात्मक दवावका कार्यक्रमलाई बेवास्ता गरिएको भन्दै थप सशक्त कार्यक्रम अघि बढाइने बताएका हुन् । विरोध अन्तर्गत आवासीय चिकित्सकले सोमवारदेखि सबै ओपीडी, ड्रेसिंग, डिस्चार्ज, ईलेक्टिभ अप्रेशन, राउण्ड, रेडियोलोजिकल तथा प्याथोलोजिकल रेकर्डिंग र रिपोर्टिंग, इमर्जेन्सी बाहेकका अल्ट्रा साउण्ड सेवाहरुमा सहभागिता जनाउने छैनन् । 

यी आन्दोलनका कार्यक्रमपश्चात पनि माग सम्बोधन नगरिए आकस्मिक सेवामा समेत सहभागित नजनाउने विद्यार्थीहरुले विज्ञप्तिमार्फत जनाएका छन् । शिक्षण अस्पतालमा करिब ३ सय आवासीय चिकित्सक छन् । उनीहरुले सेवामा सहभागित नजनाउने हो भने शिक्षण अस्पतालको सेवा प्रवाह अस्तव्यस्त हुन्छ । 

यसैबीच, आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने घोषणा गरेका आवासीय चिकित्सकले शिक्षण अस्पताल परिसरमा प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् । उनीहरु डीन कार्यालय अगाडी पनि प्रदर्शन सहित धर्ना दिएका छन् । 

Last modified on 2018-07-23 16:07:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts