चिकित्सकले हड्ताल नगर्नेः संस्था डुबाउने आन्दोलन गर्ने

डा. केसीले अनशन तोडेपछि प्रधानमन्त्रीले नै वार्ता गर्ने



Download our app to get more features

काठमाडौ ८ साउन । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ आम हड्तालका कार्यक्रमबाट पछाडी हटेको छ । अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने भन्दै ५ गतेबाट अनिश्चितकालिन हड्ताल गर्ने बताएको थियो । संघले ३ गते गरेको एकदिने हड्तालमा चिकित्सकहरु नै बिरोधमा उत्रिएपछि संघ हड्ताल गर्नबाट पछि हटेको हो । तर, उसले आन्दोलनका नयाँ स्वरुप ल्याएको छ । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार हड्ताल बिनाको आन्दोलनमा चिकित्सक संघ लाग्नेछ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संघले आगामी दिनमा स्वास्थ्य सेवा अवरुद्ध नपार्ने बताएको हो । केसी २४ दिनदेखि माथेमा कार्यदलको प्रतिवेदनको मर्म अनुसार चिकित्सा शिक्षा विद्येयक आउनुपर्ने लगायत माग सहित अनशनमा छन् । 

सस्था डुबाउने आन्दोलन
सेवा अवरुद्ध बनाउन नसक्ने भएपछि संघले निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ । सरकारी स्वास्थ्य सस्थामा कार्यरत चिकित्सकले बिरामीलाई हरेक स्वास्थ्य उपचार निःशुल्क दिने श्रेष्ठले बताए । चिकित्सकको आन्दोलनमा सत्तापक्षीय चिकित्सकले साथ नदिएपछि कांग्रेसनिकट चिकित्सकले आन्दोलनका रुप परिवर्तन गरेका हुन् । संघका एक पदाधिकारीले भने, ‘अस्पताल बन्द गर्दा सफल हुन सकिएन । अब निःशुल्क उपचार गर्दा सस्था घाटामा जानेछ । त्यसपछि सरकारले चासो दिन्छ भन्ने हो ।’ आइतवार एक विज्ञप्ति जारी गर्दै संघले भनेको छ, नियमीत ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ ।

यस्ता छन् संघका माग 

⇔    रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।
⇔     देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने । विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने छ ।
⇔     देशभरका चिकित्सक साथीहरुलाई आ–आफ्नो जिल्लामा रिलेअनसन, (याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्र्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्ने ।
⇔     काठमाडौं उपत्याकाको हकमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनसन बस्ने ।

केसी भेट्न पूर्वराष्ट्रपति यादव शिक्षण अस्पताल
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बारे  जानकारी लिन पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल पुगेका छन् । सोमवार दिउसो यादव केसीलाई भेट्न अस्पताल पुगेका थिए । केसी बोल्न नसक्ने भएका कारण उनिहरुबीच दोहोरो कुरा हुन भने पाएन । यादवले केसीका सहयोगीबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । केसीका सहयोगीले यादवलाई स्वास्थ्य उपचार गराउन नमानेका कारण केसीको स्वास्थ्य जटिल बनेको जनाएका थिए । 

केसीले अनशन तोडे आफै वार्ता गर्छु: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डाक्टर गोविन्द केसीसँग मात्रै वार्ता गर्ने बताएका छन् । तर, यही अवस्थामा केसी रहेको खण्डमा वार्ता हुनेछैन । केसीले अनशन तोडेर बोल्न सक्ने भएपछि मात्रै प्रधानमन्त्रीले वार्ता गर्ने उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । केसीको अनशनलाई लिएर राजनीति हाबी भएको भन्दै सरकारले केही बाहेक अरुसंग वार्ता नगर्ने भएको हो । वार्ताका लागि उपचार गराई बोल्न सक्ने भएर आउन सरकारले केसीलाई आग्रह गरेको छ । 

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई हड्ताल नगर्न मन्त्रालयको पत्राचार 
शिक्षा मन्त्रालयले हरेक वर्ष उपलब्ध गराउँदै आएको छात्रवृतिमा अध्ययन गरेका विद्यार्थीहरुलाई कुनै पनि आन्दोलन र बन्द हड्तालमा सहभागी नहुन आग्रह गरेको छ । छात्रवृति पाउँदा गरेको सम्झौंता अनुसारको आचार संहितामा रहेर अध्ययन गर्न विद्यार्थीलाई मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालयमार्फत सचेत गराएको छ । केही दिनअघि सहुलियत र छात्रवृत्तिमा पढेकालाई सचेत गराएको हो ।

काठमाडौं ल्याएको चार दिनपछि स्वास्थ्य परिक्षण
जुम्लाबाट काठमाडौ ल्याइएको चारदिनपछि अनशनरत डा. केसीको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि केसीले स्वास्थ्य परिक्षण गराउन राजी भएका हुन ।  आफ्ना सहयोगी चिकित्सकबाट केसीले स्वास्थ्य परिक्षण गराएका हुन ।  केसीको शरीरमा रगतका सम्पुर्ण ‘प्यारामिटर’हरु असामान्य छन् । सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ । यति कम सेतो रक्तकोशिका भएका बिरामीलाइ संक्रमण हुने दर बढी हुन्छ ।

रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको छ । पोटासियम, म्यागनेसियम र क्यालसियमको मात्रा कम छ । पोटासियम एकदमै न्युन भएकाले मुटुमा समस्या ल्याउने खतरा बढी छ । 
 

Last modified on 2018-07-25 09:10:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts