डा. केसीले आजै अनसन तोड्ने सम्भावना, वार्ता ९ बजेदेखि 



Download our app to get more features

काठमाडौं, ९ साउन । सरकारी वार्ता टोली र डा. गोविन्द केसीबीच आज पनि शिक्षा मन्त्रालयमा ९ बजेदेखि वार्ता हुने भएको छ । मंगलबार साँझ ५ः३० देखि सुरु भएको वार्ता सकारात्मक भएको थियो ।

डा. केसीले उठाएका मागमध्ये अधिकांस बुँदामा सहमति भएको र बाँकी रहेको १ नम्बरको बुँदामा आज छलफल हुने भएको हो । आज हुने वार्तासँगै डा. गोविन्द केसीको अनसन तोडिन सक्ने सम्भावना प्रवल रहेको छ।

विधेयकका अधिकांश बुँदामा मंगलबारै सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेको शिक्षामन्त्री गिरीराज पोखरेलका स्वकीय सचिव पुरण केसीले जानकारी दिए । आज थप छलफल गरेर सहमतिमा पुग्ने र त्यसपछि डा. केसीको अनसन तोड्ने तयारी भएको बताइएको छ।

मंगलबारको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय श्ययाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा गहन छलफल भएको थियो ।

वार्तामा डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे छन् भने सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन्।
 

Last modified on 2018-07-25 10:21:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts