रोटरी क्लबले भरतपुरमा  मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र खोल्ने 



Download our app to get more features

चितवन, १४ साउन । जिल्लामा रहेका पाँच रोटरी क्लबले भरतपुर महानगरपालिकाको सहकार्यमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र सञ्चालन गर्ने भएका छन् । भरतपुर महानगरपालिका–३ स्थित बाह्रघरेमा एक बिघा जग्गा प्राप्त हुने भएपछि रोटरी क्लब अफ चितवनको अगुवाईमा रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ रत्ननगरले सो केन्द्र सञ्चालन गर्न लागेका हुन् । 

रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालका अनुसार केन्द्र स्थापनाका लागि महानगरले जग्गा उपलब्ध गराउने भएको छ । करिब १५ करोड लागत अनुमान गरिएको सो केन्द्रका लागि स्थानीय स्रोत, रोटरियन र दाताको सहयोगमा भवन निर्माण गरिने छ भने आवश्यक उपकरण रोटरी इन्टरनेशनलको रोटरी फाउण्डेशन र अन्य दाताबाट लिइने छ । प्राविधिक क्षेत्रमा नेपाल स्पाइनल इञ्जुरी संघले सहयोग गर्ने भएको छ । अध्यक्ष खनालले ५० शय्याको उक्त केन्द्र सञ्चालनका लागि खर्च गर्नसक्ने बिरामीबाट पनि केही रकम लिने, त्यस्ता बिरामीका लागि सरकारले दिने एक लाख र अन्य स्रोत दाताबाटै सङ्कलन गरिने बताए । 

पाँच वर्षभित्र सञ्चालनमा आउने
महानगर प्रमुख रेनु दाहालले केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएर सहकार्य गरेको बताइन । महानगरसंग भएको संझौताबमोजिम पाँच वर्षभित्र केन्द्र सञ्चालनमा आइसक्नुपर्ने, सो केन्द्र ५० शय्याको हुनुपर्ने, केन्द्र स्थापना र सञ्चालनको व्यवस्थापन रोटरी क्लबले गर्नुपर्ने, भौतिक संरचना निर्माणका क्रममा महानगरको निर्देशन पालना गर्नुपर्ने र यो केन्द्र सर्वसाधारणको हितसंग केन्द्रित हुनुपर्ने उल्लेख छ । 

नेपालमा नै पहिलो पटक भरतपुर महानगरमा पुनःस्थापना केन्द्र स्थापना हुँदा देशका सबै ठाउँबाट आएर बिरामीले उपचार गर्न सक्ने प्रमुख दाहालले विश्वास व्यक्त गरिन ।  केन्द्रका प्राविधिक संयोजक डा. कृष्ण पौडेलकाअनुसार पक्षाघात भएका बिरामीको उपचारका लागि यो केन्द्र नेपालकै नमूना केन्द्र बन्ने छ । केन्द्रमा पुनःस्थापनासँगै ह्लिचियर चढ्ने तालीम, पौडी पोखरीमा हाइड्रोथेरापी, फिजियोथेरापी, व्यावसायिक तालीमलगायतका सुविधा दिइने छ । दुर्घटनाका घाइते, भिरबाट लडेका, रुखबाट खसेका, मधुमेह भएका, मेरुदण्डमा क्षयरोग र क्यान्सर भएका बिरामीका लागि केन्द्र महत्वपूर्ण हुने छ । 

सो केन्द्र निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार खर्च जुटाउनका लागि केही दाताको खोजी भइसकेकाले तीन वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने गरी काम अघि बढाइने छ । पाँचवर्ष अघि नै जिल्लाका रोटरी क्लबले भरतपुर अस्पताल परिसरमा केन्द्र स्थापना गर्न चाहे पनि जग्गाको अभावमा कार्य अघि बढेको थिएन । अस्पताल परिसरमा हाल १५ श्ययाको पक्षाघातका बिरामीको उपचार केन्द्र रोटरीको सहयोगमा सञ्चालन भइरहेको छ ।  मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा पक्षाघात भएका बिरामीलाई अन्य उपचारका लागि पनि सहज हुने भएपछि यहाँका रोटरी क्लबले केही वर्षयता केन्द्र स्थापनाका लागि पहल गर्दै आएका थिए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts