बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीका बारेमा दिएकाे टिप्पणीमा गगन थापाले मागे माफी



Download our app to get more features

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत थापाले आफ्नो उद्देश्य अध्ययनरत डाक्टरहरुलाई चोट पुर्‍याउनु नभएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन् 'जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’ गत असार ३० गते माइतीघर मण्डलाबाट डा. गोविन्द केसीको अनसनको समर्थनमा भएकाे सभामा उनले बंगलादेशमा पढ्ने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए ।

पछिल्लाे वक्तव्यमा थापाले आफूले विषयलाई सामान्यीकरण गर्नु र कुन तथ्यका आधारमा यो भनिएको हो प्रष्ट पार्न नसक्नु कमजोरी भएस्वीकार गरेका छन् । तर, उनले बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान भने दोहोर्‍याएका छन् । बंगलादेश मेडिकल काउन्सिलका अध्यक्षले अन्तर्वार्ता र विभिन्न आलेखहरुलाई उनले प्रस्तुत गरेका छन् ।

बंगलादेशमा राम्रा कलेज पनि रहेको तर, त्यहाँ नगन्य नेपाली विद्यार्थी रहेकाे बताए । उनले नेपाल मेडिकल काउन्सिलले लिएका परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आउनेहरु ३२ पटकसम्म फेल हुने गरेको तथ्य राखेका छन् । नेपाल बाहिर थुप्रै विद्यार्थीहरु अध्ययन गर्न गइरहेको भन्दै नेपाल भित्र मेडिकल कलेजको संस्था कम भएको लाइभ मार्फत बताएका छन् ।

उनले थपेका छन्, 'डा. केसीको आन्दालेनले नेपालभन्दा बाहिर पढ्न जाने बाध्यताको स्थिति सिर्जना भएको छ भन्ने अभियोग थियो, आरोप लागिरहेको थियो त्यसको खण्डन गर्ने सन्दर्भमा मैले आफ्ना विचारहरु राखेको थिए उनले भने । चीन, बंगलादेश, फिलिपिन्स जस्तो देशमा पढ्न गएका अधिकांश विद्यार्थीहरु त्यहाँ पढिसकेपछि प्रमाणपत्र प्राप्त गर्ने कुरा सजिलो हुन्छ, त्यसकारण गएका हुन् भन्ने मेरो आफ्नो भनाइ हाे ।'

Last modified on 2018-08-02 08:16:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts