चौरजहारी अस्पताल घटनाबारे कर्णाली सरकारको ध्यानाकर्षण



Download our app to get more features

सुर्खेत, २६ साउन । कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा सांसदहरुले रुकुम चौरजहारीमा एक महिलाको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराए । बैठकमा रुकुम पश्चिमबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले उक्त घटनामा लासमाथि राजनीति गर्न खोजिएको विचार व्यक्त गरे ।

यही साउन २० गते जाजरकोट भेरी नगरपालिका–१३ कुदुकी २९ वर्षीया यशोदा मल्ल आरसीका उपचारका क्रममा भएको मृत्यु निकै दुःखद भएको बताउँदै सदस्य शर्माले भने, “उपचारमा लापरवाही भयो भएन छानबिन गर्नुपर्ने थियो तर एकातिर ज्यान गएको र अर्कोतर्फ अस्पतालको रु ३५ लाख क्षति भएको छ ।”

अप्रत्यक्ष रुपमा भइरहेको गलत राजनीतिकरणका कारण केही समयसम्म यशोदाको लास अस्पतालमा राख्नु परेको र शुक्रबार मात्रै आफन्तले बुझेको उनको भनाइ थियो । पीडित परिवारलाई राहत र चिकित्सकहरुलाई निरुत्साहित नहुने खालको वातावरण तयार गर्नुपर्ने अवस्था आएको उनले जनाए ।

त्यस्तै सभा सदस्य अमृता शाहीले सिकारु चिकित्सकका कारण महिलाको ज्यान गएको आरोप लगाइन् । उनले अस्पतालको चरम लापरवाहीले यशोदाले अकालमा ज्यान गुमाउनु परेकाले उनको परिवारलाई उचित क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग गरिन् ।

सदस्य कृष्णा शाह (आचार्य) ले अस्पतालको लापरवाहीका कारण उनले ज्यान गुमाउनु परेको जिकिर गरिन् । यस विषयमा प्रदेश सरकारले छानबिन समिति गठन गरी दोषीमाथि कारवाही र पीडित परिवारलाई राहत दिनुपर्नेमा उनको जोड थियो । यस विषयमा सभामुख राजबहादुर शाहीले विभागीय मन्त्रीहरुलाई ध्यानाकर्षण गर्न रुलिङ गरेका थिए । 

विधेयक पारित 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पेश गरेको ‘प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५’ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।  त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले “कर्णाली प्रदेश सहकारी विधेयक, २०७५” लाई सामाजिक विकास समितिमा पठाउन सभामा प्रस्ताव राखेकी थिइन् ।

प्रस्ताव अनुसार सो विधेयक समितिमा पठाउन प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ ।

रासस

Last modified on 2018-08-11 09:51:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts