अस्पताल भवन निर्माण गर्न २५ करोड

What's This?


Download our app to get more features

चितवन, १४ जेठ । भरतपुर अस्पतालको महत्वाकांक्षी ‘सी’ ब्लक निर्माणका लागि नेपाल सरकार अर्थमन्त्रालयले २४ करोड ८० लाख रुपैयाँ रकम दिने स्वीकृति दिएको छ । 
गत वैशाख २९ गते अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयका लागि पत्र लेखी मन्त्रालयको बजेट सीमाभित्र रहने गरी बहुवर्षीय ठेक्काअन्तर्गत रकम उपलब्ध गराउने गरी बजेट सुनिश्चितता गरेको हो । 

भरतपुर अस्पतालको अनुरोधमा गत वैशाख ६ गते ‘सी’ ब्लकको गुरुयोजना स्वीकृत गरी बजेट सुनिश्चितता गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई पत्र लेखेको थियो । वैशाख २८ गते अर्थमन्त्री विष्णु पौडेलको मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई सो रकम उपलब्ध गराउने निर्णय भएको हो । भरतपुर अस्पतालको ‘सी’ ब्लक भवन गुरुयोजनाअनुरुप निर्माण हुनेछ । 


अस्पतालको गुरुयोजना स्वर्गीय अध्यक्ष नरबहादुर खाँडको पालामा निर्माण गरेको भए पनि अहिलेसम्म मन्त्रालयमा लगेर स्वीकृत गराइएको थिएन । 
अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदीले अहिले भवनका लागि मन्त्रालयमै पुगेर पहल गरेपछि ‘सी’ ब्लकको गुरुयोजना स्वीकृत गराउन सफल भएको बताए । 

करिब ३२ करोड रुपैयाँको लगानीमा निर्माण हुने सी ब्लक भवन अत्याधुनिक हुनेछ । भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुनेछ भने अस्पतालको २० प्रतिशत लगानी हुने सुवेदीले बताए । 

अस्पतालको सी ब्लक भवनको एनट आर्किटेक्चर एन्ड आर्किटेक्स कम्पनीले तयार गरेको हो । अस्पतालको सी ब्लक भवनको निर्माण यसै आर्थिक वर्षभित्र निर्माण सुरु गर्ने गरी ठेक्का लगाउने उद्देश्यले टेन्डर गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए । 
३ वर्षभित्र सी ब्लक भवन पूरा हुने योजना भएको र पूर्णरुपमा डाइग्नोस्टिक ब्लक हुने मेसु डा. मरासिनीले बताए । 

भवनको तल्लो भुइँतलामा परीक्षण गरिनुपर्ने सबै विभाग र सेवासुविधा उपलब्ध हुनेछन् । भवनले चार हजार चार सय ३३ स्क्वायर मिटर जमिन ओगट्नेछ । भवन भुइँतलामा सिटी क्यान, एमआरआई, ल्याब, हिस्टोप्याथोलोजी, एक्स–रे, ल्याब, इसिजी, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोसकोपी लगायतका सेवासुविधा उपलब्ध हुनेछन् भने पहिलो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहनेछन् । 

‘ए’ ब्लकको पहिलो तलामा अप्रेसन थ्रिएटरसहित आइसियु सेवा हुने भएकाले, ‘सी’ ब्लकको पहिलो तलामा पनि अप्रेसनसँग जोडिने सेवा राखिने अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । 

भवनको तेस्रो तलामा डाइलाइसिससम्बन्धी काम हुनेछन् । ब्लक ‘ए’, ब्लक ‘बी’ र ब्लक ‘सी’लाई ¥यामले जोडिनेछ । भवन निर्माणको नियमित अनुगमन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भरतपुरले गर्नेछ । 
 

रासस
 

Last modified on 2016-05-28 12:01:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts