सुत्केरी भत्ता कागजमा मात्र दोब्बर, परिवार कल्याण महाशाखा भन्छ: बजेट छैन



Download our app to get more features

काठमाण्डौ, २८ साउन । सरकारले दोब्बर वृद्धि गरेको सुत्केरी भत्ता कागजमै सीमित हुने भएको छ।

नयाँ आर्थिक वर्ष ०७५/०७६ को बजेट भाषणमै सरकारले सुत्केरीलाई दिने भत्तालाई दोब्बर बनापनि आफुसँग बजेट नभएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको वार्षिक बजेटमा सुत्केरीलाई दिने भनिएको भत्ता बढाउने उल्लेख छैन । जसअनुसार स्वास्थ्य मन्त्रालयलाई अर्थ मन्त्रालयले त्यसबापत कुनै रकम विनियोजन गरेको छैन । त्यसैले गर्दा स्थानीय तहहरुबाट बढि रकम माग भएपनि शोधभर्ना दिन नसकिएको महाशाखाका प्रमुख डा. आरपी बिच्छाले बताए ।

सोमबार स्वास्थ्य सेवा विभाग पुगेका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवलाई विफ्रिगं गर्दै निर्देशक विच्छाले महाशाखासँग सुत्केरीलाई दोब्बर भत्ता दिने बजेट नभएको बताएका थिए । उनले पुरानै रकम भत्ता दिनसमेत बजेट अभाव भएको बताउँदै नयाँ कार्यक्रमलाई बजेट अपुग हुने बताए । सबै स्थानीय तहबाट दोब्बर रुपमा सुत्केरी भत्ता दिनका लागि महाशाखालाई तत्काल १० करोड आवश्यक पर्ने विच्छाले बताए । उनले भने 'हामीसँग यथावत कार्यक्रमकै लागि बजेट अपुग छ । राजनीतिक निर्णयबाट भएको नयाँ कार्यक्रम सञ्चालन कसरी गर्ने हो मैले बुझ्न सकेको छैन ।'

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री यादवले संघीयता कार्यान्वयनको संक्रमणकाल भएकाले तत्काल केही समाधान ननिस्किएपनि बढाइएबापतको सुत्केरी भत्ता सबैले पाउनेभन्दै विभागका कर्मचारीलाई आश्वस्त बन्न आग्रह गरे ।

Last modified on 2018-08-14 08:06:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts