स्वास्थ्यको संघीय संरचनामा विवादै विवाद, पुनरावलोकन गर्न नयाँ समिति गठन



Download our app to get more features

काठमाडौं, २९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय, प्रदेश र स्थानीय तहको स्वास्थ्य क्षेत्रको नयाँ संरचना पुनरावलोकन गर्न भन्दै नयाँ समिति गठन गरेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले ३ महिनाभित्र सम्बन्धित महाशा तथा विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

समितिले मन्त्रालय अन्तर्गतका महाशाखा र विभागहरुको स्वीकृत संगठन संरचनाको पुनरावलोकन गरी संघीय कार्य विस्तृतिकरण अनुरुप परिमार्जन आवश्यक भएमा सोहि अनुसारको राय पेश गर्ने भनिएको छ । त्यस्तै प्रदेश र स्थानीय तहबाट हुने वार्षिक कार्ययोजना र बजेट कार्यान्वयनको लागि अनुगमन तथा मुल्यांकन कसरी गर्ने र सोको ढाँचा तथा कार्यविधि तयार पार्ने लगायतका प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । 

समितिमा मन्त्रालयका प्रमुख समन्वय महाशाखाका मोहम्मद दाउद, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र बारका बद्रि बहादुर खड्का, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपचसचिव लगायतका रहेका छन् ।

मन्त्रालयले यसअघि पनि दु्ईपटक संघीय संरचना पुनरावलोकन गर्न खोजेपनि सफल भएको छैन । जसले गर्दा प्रदेश र स्थानीय तहले सञ्चालन गर्नुपर्ने विभिन्न कार्यक्रम कार्यान्वयन हुनसकेको छैन । अरु मन्त्रालयका संरचना संघीयताका आधारमा गएपनि स्वास्थ्यको भने कार्यान्वयनमा गएको छैन । जसले गर्दा जिल्ला जनस्वास्थ्य कार्यालयलाई कायम राखिएको छ ।

त्यस्तै, विभिन्न खोप, मातृशिशु कार्यक्रम, परिवार नियोजन, कुष्ठरोग लगायतका जनस्वास्थ्य कार्यक्रमको बजेट प्रदेश सरकारलाई पठाइएपनि मन्त्रालयले पुनः पुरानै संरचना अनुसार गर्न भनेर प्रदेश सरकारलाई परिपत्र गरेको छ । त्यस्तै मन्त्रालयमा कर्मचारीको दरबन्दी संरचनालाई लिएर पनि उत्तिकै विवाद देखिएपछि मन्त्रालयले नयाँ समिति बनाएको हो ।

Last modified on 2018-08-15 08:41:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts