स्वास्थ्य मन्त्रालयमा 'बुर्लाकोटी आतंक' कर्मचारी प्रशासनमा उपसचिव समेत बस्न मानेनन्



Download our app to get more features

काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधु बुर्लाकोटीको व्यवहारका कारण कर्मचारीहरुले काम गर्न कठिन भएको गुनासो गरेका छन् ।

आफ्नो पक्कडमा राख्न कर्मचारीलाई अनावश्यक थर्काउने र कासमु समेत काट्ने धम्कि दिन थालेपछि स्वास्थ्य मन्त्रालयका कर्मचारी बुर्लाकोटीबाट आतंकित भएका हुन । गत बैशाख २४ गते मन्त्रीपरिषद बैठकले सह सचिवको सरुवा गर्दा बुर्लाकोटी स्वास्थ्य मन्त्रालय पुगेका थिए । स्वास्थ्य मन्त्रालय आउनु अगाडी बुर्लाकोटी उद्योग मन्त्रालयमा कार्यरत थिए ।

जनसंख्या शाखामा सरुवा भएका उनलाई तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल र सचिव पुष्पा चौधरीले मन्त्रालयको बागडोर सम्हाल्न कर्मचारी प्रशासन शाखाको जिम्मा लगाएका थिए । सो शाखामा कार्यरत सहसचिव जनार्दन गुरागाई आमाको काज किरियामा बसेको तीन दिनमै सल्लाह समेत नगरी सचिव र मन्त्रीले गुरागाईको ठाउँमा बुर्लाकोटीलाई लगेका थिए ।

गडुलका अगाडी सर्प

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, आर्थिक लाभ लिने उदेश्यले आमाको काममा बसेका गुरागाईलाई थाहै नदिई सचिव पुष्पा चौधरी र मन्त्री अर्यालले बुर्लाकोटीलाई कर्मचारी प्रशासनको साचो बुझाएका थिए ।

बुर्लाकोटीको कार्यशैलीलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा द्वन्द्व सुरु भएको छ । बुर्लाकोटी मन्त्रालय आएको दिन कर्मचारी दिनभर आतंकित हुने गरेका छन् । कर्मचारी प्रशासन शाखाकै एक कर्मचारीलाई कासमु काट्ने धम्कि दिएपछि सहसचिव बुर्लाकोटी स्वास्थ्यमा अलोकप्रिय बन्दै गएका छन् ।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा मन्त्रालयका एक कर्मचारीले भने, ‘मलाई मन्त्रालयबाट हटाउने उदेश्यले कुनै कारण बिना बोलाएर हकारीयो । मैले कारण सोध्दा तपाईको बढुवा हुने बेला भएको छ कासमु काटी दिन्छु भने ।’

कर्मचारीलाई धम्याउन थालेपछि गृह सचिव प्रेम कुमार राईले बुर्लाकोटीलाई सचेत गराएका छन् । स्वास्थ्य मन्त्रीका स्वीकीय सचिव महेश चौरसीयाले पनि बुर्लाकोटीबाट असहयोग भएको बताए । सचिवालयका अनुसार दिनहुँ ठुलो संख्यामा गुनासो बोकेर कर्मचारी मन्त्रीलाई भेट्न आउने गरेका छन् ।

मन्त्री पनि बुर्लाकोटी कै पक्षमा

उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत सहसचिव बुर्लाकोटीलाई आफ्नो पक्षमा लिएको बुझिएको छ । मन्त्रीको सचिवालयका केही कर्मचारीहरुको कुरा अनुसार बुर्लाकोटी दिनमा चारपटक सम्म मन्त्रीलाई भेट्ने गर्छन ।

मन्त्रीको सचिवालयले समेत बुर्लाकोटीले काममा असहयोग गरेकाले अर्को व्यक्ति राख्न मन्त्रीलाई सल्लाह दिएपनि मन्त्रीले त्यसलाई अस्वीकार गरेका छन् । बुर्लाकोटीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवका सल्लाहकार, स्वकीय सचिव लगायत कसैलाई टेरेका छैनन । मन्त्रालयका अधिकारीहरुका अनुसार अनुसार जे काम लगेपनि बुर्लाकोटीले हुन्न भन्ने विषयबाट सुरु गर्छन ।

बुर्लाकोटीसँग उपसचिव बस्न मानेनन्

एक महिना अगाडी स्वास्थ्य मन्त्रीले ११ औं तहका चिकित्सक र उप सचिव, अधिकृत सम्मको सरुवा गरे । तर, १२ वर्षदेखि कर्मचारी प्रशासनमै बसेर काम गरेका प्रेम दुवालाई सचिव र बुर्लाकोटीले सरुवा गर्न मानेनन् । सरुवामा केही विवाद रहे पनि अहिले सबै काममा गएका छन् ।

कर्मचारी प्रशासन शाखाको उपसचिवका रुपमा काम गर्दै आएका बाबुराम खनाललाई स्वास्थ्य सेवा विभाग टेकुमा सरुवा गरे । तर, एक महिनासम्म उक्त शाखामा कुनै उपसचिव आउन चाहेनन् । बुर्लाकोटीको व्यवहारले गर्दा उपसचिवहरु उक्त शाखामा आउन नमानेका हुन । हाल स्वास्थ्य मन्त्रीका निजी सचिवका रुपमा काम गर्दै आएका उप सचिव भवनाथ खतिवडालाई ल्याउने भनिएपनि उनले मानेनन् ।

त्यस्तै विगतमा नीति योजना महाशाखामा बसेका भक्तराज जोशीले पनि उक्त शाखा अस्वीकार गरे । यता आपुर्ति व्यवस्था महाशाखाका उपसचिव बाबुराम लामिछानेले सचिव र बुर्लाकोटीकै अगाडी सहसचिवसँग काम गर्न नसक्ने भन्दै अस्वीकार गरे । हाल खनाल नै उक्त शाखामा काम गरिरहेका छन् ।

Last modified on 2018-08-17 07:43:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts