२५ साताभन्दा बढीको गर्भपतन गराए पाँच वर्षसम्म कैद



Download our app to get more features

गर्भपतन गर्न नहुने :

(१) दफा १८९ को अवस्थामा बाहेक कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भ पतन हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन । 
(२) कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन हुँदैन । 
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजायँ हुनेछ ः– 
(क) १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना, 
(ख) १२ साताभन्दा बढी २५ सातासम्मको गर्भ भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना ।
(ग) २५ साताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना । 
(४) गर्भपतन गर्ने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा ज्यूँदो जन्मेर त्यस्तो कामको परिणाम स्वरुप जन्मिएको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिने छ ।
(५) कसैले कुनै गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको २५ साता वा सो भन्दा बढी अवधिको गर्भ पतन हुन गएमा सो काम गर्ने कसूरदारलाई यस ऐन वा अन्य कानून बमोजिमको सजायँमा थप पाँच वर्षसम्म कैद हुनेछ । 
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कसैले कुनै गर्भवती महिला विरुद्ध कुनै रिसइवीले कुनै काम गर्दा गर्भपतन हुन गएमा गर्भपतन गर्ने नियतले त्यस्तो काम गरेको रहेनछ भने पनि देहाय बमोजिमको सजायँ हुनेछ :– (क) १२ सातासम्मको गर्भ भए एक वर्षसम्म कैद, (ख) १२ साताभन्दा बढी २५ सातासम्मको गर्भ भए तीन वर्षसम्म कैद, (ग) २५ साताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद । 
(७) कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुँदैन । 
(८) उपदफा (७) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजायँ हुनेछ ः–(क) गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद, र (ख) लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायँमा थप एक वर्षसम्म कैद । 

१८९. गर्भपतन गराउन सक्ने : दफा १८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्यकर्मीले देहायको अवस्थामा गर्भपतन गराएकोमा यस ऐन अन्तर्गतको कसूर भए गरेको मानिने छैन ः– 
(क) गर्भवती महिलाको मञ्जुरीमा १२ सातासम्मको गर्भपतन गराएकोमा, 
(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
(ग) जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार सातासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा, 
(घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा । 
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि ‘स्वास्थ्यकर्मी’ भन्नाले निर्धारित योग्यता पुगी गर्भपतन गराउन इजाजत प्राप्त गरेको चिकित्सक वा स्वास्थ्यकर्मी सम्झनु पर्छ ।

१९०. हदम्याद:  यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन । 
 

Last modified on 2018-08-17 09:55:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts