भटाभट ग्राण्डी अस्पताल छाड्दै डाक्टर र कर्मचारी, भन्छनः व्यवस्थापन पैसाको मात्र पछि लाग्यो



Download our app to get more features

काठमाण्डौ, ८ भदौ । सुविधासम्पन्न अस्पताल भनेर चिनिने ग्राण्डी अस्पतालको व्यवस्थापन पैसाको मात्र पछि लागेको भन्दै चिनिएका डाक्टरहरुले भटाभट जागिर छाड्न थालेका छन् । अस्पतालबाट चिकित्सकमात्र नभई नर्स, टेक्निसियन र कर्मचारीले पनि बाटो तताएका छन् । 

अस्पताल व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्ट भएकाहरु एकवर्षयता उपयुक्त विकल्प पाएसँगै अलग हुने क्रम बढेको हो । ललितपुरको नख्खुमा मेडिसिटी अस्पताल र धुम्बाराहीमा ठूलो लगानीसहित ह्याम्स हस्पिटल विस्तार भएसँगै अधिकांश डाक्टर, नर्स एवं कर्मचारीले ग्राण्डी छाडेका हुन् । एकवर्षयतामात्र झण्डै डेढसयले ग्राण्डी छाडेका छन् । उनीहरुमध्ये अधिकांशले ग्राण्डी अस्पताल प्रशासन पैसाको मात्र पछि लागेको आरोप लगाएका छन् । अस्पतालले कामको आधारमा भन्दा पनि व्यक्तिगत निकटताका आधारमा मूल्यांकन गर्ने, उचित जिम्मेवारी र प्रोत्साहन नदिएको धेरैको आरोप छ । 

कर्मचारी मेडिसिटीमा धेरै, डाक्टर ह्याम्समा 
ग्राण्डी अस्पताल छाडेर मेडिसिटी अस्पताल जानेमा अधिकांश चिकित्सक बाहेकका कर्मचारी छन् । चर्चित मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्मा बाहेक नाम चलेका कुनै डाक्टर मेडिसिटी गएका छैनन् । मेडिसिटी जानेमा नर्सिङ र प्रशासनिक कर्मचारी धेरै छन् । ग्राण्डी अस्पतालका एकजना संस्थापक शेयरधनी उपेन्द्र महतोले शेयर निकालेर मेडिसिटी गएसँगै उनी निकट कर्मचारीसँगै एक समुह मेडिसिटी गएको थियो । मेडिसिटीले ग्राण्डीको भन्दा धेरै सेवासुविधा दिएसँगै उनीहरु त्यता गएका हुन् । मेडिसिटीमा चिकित्सकको कार्यवधि बढि भएपछि वरिष्ठ र नाम चलेका चिकित्सक भने गएनन् । मेडिसिटीमा चिकित्सकको कार्यवधि १२ घण्टा भएकाले पनि धेरै चिकित्सक गएनन् । 'फुलटाइम गर्नेपर्ने बाध्यता र कर्पोरेट प्रेसर भएकाले कुरा भएपनि त्यता गइएन' एकजना चिकित्सकले भने । 

नाम चलेका डाक्टरजति ह्याम्समा 
धेरै उतारचढावका बीच एउटा छवि बनाएको अस्पतालले व्यवस्थापकीय सन्तुलन नमिलाएको भन्दै त्यहाँ कार्यरत वरिष्ठ र नाम चलेका डाक्टरले भटाभट छाड्न थालेका हुन् । अस्पतालमा पार्टटाइम काम गर्ने सुप्रसिद्ध चिकित्सक प्रा.डा. भगवान कोइरालाले ग्राण्डी छाडेका छन् । डा. कोइराला यस्तो नाम हो जसको नाम झुण्ड्याउँदामात्र पनि अस्पतालको व्यापार बढ्छ । कोइराला ग्राण्डी छाडेर ह्याम्समा पार्टटाइम आवद्ध भएका हुन् । उनीसँगै अर्का प्रख्यात चिकित्सक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका प्राडा अर्जुन कार्कीले पनि ग्राण्डी छाडेका छन् । उनी पनि ह्याम्स अस्पतालमा पल्मोनोलोजी तथा क्रिटिकल केयर डिभिजनको प्रमुख भएर गएका छन् ।

त्यस्तै, ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका डा. चक्रराज पाण्डेले नेतृत्व विभाजन गर्न नसक्दा रुष्ट भएको अर्थोपेडिक, स्पाइन तथा स्पोर्टस इन्जुरी डिपार्टमेण्टका चारजनाले एकैसाथ छाडेर ह्याम्स गएका छन् । टर्कीबाट अर्थोपेडिक्समा एमडी गरेका पाण्डेले ज्वाइन्ट एण्ड स्पार्टस इन्जुरीमा कुनै विशेषज्ञता नलिएपनि कर्पोरेट बलमा उनी विशेषज्ञ कहलिएकामात्र छैनन् । उक्त डिपार्टमेन्ट पनि उनैले हडपेका छन् । जसबाट असन्तुष्ट बनेका विशेषज्ञ चिकित्सकले ग्राण्डी छाडेका हुन् । उक्त डिपार्टमेन्टका डेपुटी चिफ रहेका डा. भाष्करराज पन्त सहित चारजना ह्याम्स गएका हुन् । अमेरिकाबाट फर्किएका पन्त ह्याम्समा अर्थोपेडिक डिपार्टमेन्टको प्रमुख भएर गएका हुन् । उनीसँगै विशेषज्ञ चिकित्सकहरु डा. विज्ञान भण्डारी, डा. प्रशान्त अधिकारी, डा. सन्दिप भण्डारीलगायतले एकैपटक ग्राण्डी छाडेका हुन् । अर्थोपेडिक डिपार्टमेन्ट नै खाली हुन लागेपछि ग्राण्डीले हतार हतार स्पाइन सर्जन डा. विनोद विजुक्छेलाई डिपार्टमेन्ट चिफ बनाएर तत्काललाई रोक्न सफल भएको छ । 

यतिमात्रै नभएर एनेस्थेसिया (अप्रेशन गर्दा बेहोस बनाउने) विभागका विभागीय प्रमुख डा. मुरारीराज उप्रेतीले पनि लगभग ग्राण्डी छाडेका छन् । उनीपनि एउटा समुहसहित ह्याम्स जाँदैछन् । स्त्री तथा प्रसुतिरोगका चर्चित चिकित्सक प्राडा पदमराज पन्तले पनि ग्राण्डी छाडेका छन् । केही समय ह्याम्समा पार्टटाइममा गएका उनी फुलटाइम त्यतै जाने तयारीमा छन् । उनका अलावा वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. प्रेमराज ज्ञवालीपनि ह्याम्स जाने भएका छन् । उनी ग्राण्डीको युरोलोजी विभागका प्रमुख हुन् । 

नाम चलेका डाक्टरहरुले भटाभट छाड्न थालेसँगै ग्राण्डीले कसरी डाक्टर रोक्ने भन्ने रणनीति बनाउन थालेको ग्राण्डी निकट स्रोतले बतायो । मासिक १५ करोडभन्दा बढि बैंकको व्याज तिर्ने दायित्व रहेको अस्पतालले पैसा असुल्नेमात्र दाउ हेरेपछि डाक्टरहरु रुष्ट बनेका हुन् । झनै केही समयअघि अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना भएसँगै काठमाण्डौ बाहिरबाट पनि इमर्जेन्सी केसहरु ग्राण्डी पठाउन हिचकिचाइरहेका छन् । 

शेयरधनीपनि निक्लने दाउमा 
ग्राण्डी अस्पतालमा चिकित्सक कर्मचारीसँगै शेयरधनीहरुको पनि मन भरिन थालेको छ । उपेन्द्र महतोले शेयर निकालेर मेडिसिटी खोल्नु र बैंकको ऋण तिर्न धौधौ परेपछि अस्पतालले केही समय अघि कर्मचारी कटौतिको रणनीति समेत बनाएका थियो । त्यसबाट मात्र पनि अस्पताल उँभो लाग्न नसकेपछि व्यवस्थापन गर्न भारतबाट मान्छे ल्यायो । थाइल्याण्ड, सिंगापुरका केही अस्पतालसँग सहकार्य गर्ने नाममा अस्पतालले केही विदेशी लगानी भित्र्याउन खोजेपनि सफल हुन सकेको छैन । जसले गर्दा वषौं हुँदा पनि नाफा चाख्न नपाएका शेयरधनीहरु विकल्प खोज्न थालेका हुन् । 

Last modified on 2018-08-24 15:59:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts