आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारिने



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । नेपाल चिकित्सक संघले मुलुकी ऐन संशोधन गर्ने कानूनमन्त्रीको मौखिक प्रतिवद्धता कार्यान्वयन नभएको विरोधमा आइतवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । 

शुक्रवार विज्ञप्ति जारी गर्दै संघले चिकित्सकहरुको पुरानो माग कार्यान्वयन गर्नुको साटो मुलुकी ऐनमार्फत धेरै कस्न खोजेको भन्दै सशक्त आन्दोलन गर्ने जनाएको हो । संघले ऐन संशोधन नभए भदौ १ देखि नै विरोधका कार्यक्रम सहित आफ्नो प्रमाणपत्र सरकारलाई बुझाउने घोषणा गरेको थियो । त्यतिबेला कानुनमन्त्री भानुभक्त ढकाललाई संघका पदाधिकारीले भेटेपछि आन्दोलनका कार्यक्रमलाई भदौ १५ गते शुक्रवारसम्मलाई स्थगन गरिएको थियो । 

यो अवधिमा पनि सहमति कार्यान्वयन नभएको भन्दै संघले सांकेतिक विरोधका रुपमा एकदिन आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको हो । त्यस्तै संघले आफ्ना सबै शाखाहरुलाई परिचालन गरि चिकित्सकहरुको प्रमाणपत्र संकलन गरेको जनाएको छ । संघले देशभरबाट करिब १५ सय प्रमाणपत्र सरकारलाई बुझाउन जम्मा गरिसकेको जनाएको छ । नेपाल चिकित्सक संघमा ८ हजारभन्दा बढी चिकित्सक सदस्य छन् । नेपाल मेडिकल काउन्सिलमा करिब २१ हजार चिकित्सक दर्ता छन् । 

Last modified on 2018-09-01 08:30:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts