दक्षिणपूर्वी एशियामा मेडिकल सामाग्री सस्तो बनाउने डब्लुएचओको घोषणा

क्षेत्रीय निर्देशकमा पुनः क्षेत्रपाल



Download our app to get more features

काठमाण्डौ । विश्व स्वास्थ्य संगठनको दक्षिण एशियाली क्षेत्रका सदस्य राष्ट्रहरुबीच अत्यावश्यक, औषधि, उपकरण तथा परीक्षण प्रविधिहरुलाई सस्तो र सुलभ बनाउने सहमति भएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजना गरिएको संगठनको ७१ औं दक्षिणपूर्वी क्षेत्रीय सभाले अत्यावश्यक मेडिकल सामाग्री सर्वसुलभ बनाउने उल्लेख गरिएको दिल्ली घोषणापत्र जारी गरेको हो ।  महंगो मेडिकल सेवाले दक्षिणपूर्व क्षेत्रका राष्ट्रहरुमा तीव्र गरिबी निम्त्याएको भन्दै ११ देशका मन्त्री सहित अधिकारीहरु सम्मिलित बैठकले आवश्यक चिकित्सा उत्पादनमा पहुँच विस्तार गर्ने सम्बन्धी घोषणा गरेको संगठनको क्षेत्रीय कार्यालयले जनाएको छ । 

पछिल्ला वर्षहरुमा सदस्य देशहरूले महत्वपूर्ण प्रयासहरू गर्नुका साथै औषधि र मेडिकल सामाग्रीहरूको पहुँच सुधार गर्न डब्लुएचओले सन् २०१४ यता प्राथमिकताका साथ काम गरिरहेको जनाइएको छ । दिल्ली घोषणापत्रमा गरिब नागरिकलाई अत्यावश्यक मेडिकल सामाग्रीको जोहो उक्त देशको सरकारबाट गर्न आर्थिक व्यवस्थापन गराउन रणनीतिक पहल गर्नेपनि उल्लेख छ । सदस्य राष्ट्रहरूले दक्षिणपूर्वी एशिया नियन्त्रक नेटवर्क मार्फत आवश्यक चिकित्सा उत्पादनहरूको उपलब्धता, गुणस्तर र सुरक्षा सुधार गर्न नियामक सहयोग गर्ने बताइएको छ । सदस्य राष्ट्रहरु स्वास्थ्य सेवाको विश्वव्यापी पहुँचको उद्देश्य प्राप्त गर्न अन्य स्वास्थ्यका कार्यक्रम सहित चिकित्सा सामाग्रीको पहुँच विस्तार गर्न तयार भएको संगठनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

संगठनको क्षेत्रीय समितिको बैठक वार्षिक रूपमा आयोजना गरिन्छ । यस क्षेत्रमा ११ सदस्य राष्ट्र छन् । यसमा नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सहभागी भएका छन् । 

क्षेत्रीय निर्देशकमा पुनः क्षेत्रपाल
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकमा पुनः डा. पुनम क्षेत्रपाल सिंह चुनिएकी छिन् । दिल्लीमा आयोजित क्षेत्रीय सभामा उनलाई दोश्रो कार्यकालका लागि सहमति दिइएको हो । यद्यपी अर्को वर्ष जेनेभामा हुने विश्व स्वास्थ्य संगठनको महासभाले उनको नाम पारित गरेको खण्डमा मात्र उनले दोश्रो कार्यकाल सुरु गर्नेछिन् । ४ वर्षको कार्यकाल रहेको क्षेत्रीय निर्देशकमा डा. पुनम सन् २०१४ मा चुनिएकी हुन् । त्यसअघि उनी सन् २००० यता विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियामा उपनिर्देशककी रुपमा कार्यरत थिइन् । 

Last modified on 2018-09-06 06:48:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts