डा. केसीद्वारा जुनसुकै बेला १६औं अनसन सुरु गर्ने चेतावनी



Download our app to get more features

काठमाडौं, १२ असोज । प्राडा गोविन्द केसीले सहमति अनुसार संसदको वर्षे अधिवेशनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आज आयोजित पत्रकार सम्मेलनमा सरकार आफैले गरेको सम्झौता सम्झाउने गरी जुनसुकै बेला अनशन बस्ने चेतावनी दिएका छन् । 

डा. केसीको १५औं अनसन तोडाउने क्रममा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेकपाका नेता सुवाषचन्द्र नेम्वाङलगायतले वर्षे अघिवेशनबाटै चिकित्सा शिक्षा विधेयक पास गर्ने सहभति भएको थियो । तर संसदमा दर्ता भएको विधेयक माथि विस्तृत छलफल नै नभइ विहीबार राती १२ बजे वर्षे अधिवेशन सकिएको छ । सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी र विद्यार्थीमुखी बुँदाहरू हटाएर निश्चित समूहको स्वार्थ पूरा गर्ने गरी विधेयक प्रस्तुत गरेपछि डा. केसीले १० साउनदेखि २७ दिन लामो १५ औँ सत्याग्रह गरेका थिए । 

आज आयोजित पत्रकार सम्मलेलनमा डा. केसीले समाजवाद उन्मुख संविधान, साम्यवादी र समाजवादी पार्टी र सरकारको नेतृत्व २÷३ बहुमत प्राप्त साम्यवादी पार्टी सरकारकमा रहेको अवस्थामा पनि गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यमा व्यापारी करण हुनु अत्यन्त खेदपूर्ण रहेको बताए । यसरी सेवामूलक पेसालाई पनि चरम व्यापारी करण गरी अथाह धन कमाउने व्यापारिक स्वार्थ बोकेका  निर्वाचित जनप्रतिनिधिहरूको कारण नै आजसम्म पनि ऎन पास हुन नसकेको उनको भनाइ छ । सो अवसरमार उनले माथेमा कार्यदलको प्रतिवेदन र हामीसँग भएका सम्झौताहरू बमोजिम विधेयक पारित गर्ने गरी १५औं सत्याग्रह अन्त्य गर्ने क्रममा नेपाल सरकारसँग सम्झौता भएको दुई महिना बितिसकेको बताए । प्रधानमन्त्री खड्गप्रसाद ओली स्वयंको पहलमा नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्ग  र सोही पार्टीका महासचिव विष्णु पौडेल समेतको सहभागितामा भएको सम्झौता पालना गर्न सरकार  उदासीन देखिनु विडम्बनापूर्ण रहेको उनको भनाइ छ । 

सो अवसरमा डा. केसीले हालसम्म भएका सबै सम्झौता (सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन लगायत) तत्काल कार्यानवन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरूलाई जबाफदेही  बनाउने लगायतका माग राखी जुनसुकै बेला १६औँ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । 
 

Last modified on 2018-09-28 16:55:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts