मापदण्डका आधारमा मात्र कर्मचारीको सरुवा गर्न स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य समितिको निर्देशन



Download our app to get more features

काठमाडौं, १६ असोज । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय गरेको कर्मचारीको सरुवालाई लिएर व्यापक विरोध भइरहँदा संसदको शिक्षा तथा स्वास्थ्य समितिले मापदण्डका आधारमा मात्र कर्मचारीको सरुवा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा स्वास्थ्य क्षेत्रमा विना मापदण्ड कर्मचारीको सरुवा गरेको देखिएको भन्दै मापदण्डका आधारमा मात्र कर्मचारीको सरुवा गर्न निर्देशन दिएको हो । 

त्यस्तै बैठकले राज्यद्वारा प्रदान सहूलियत एवं निशुल्क उपचार सेवामा बिपन्न वर्गको पहुच पुग्न नसकेको भन्दै समाजिक सुरक्षा र मान्यताका आधारमा विरामीको सहूलियत एवं निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिईएको शिक्षा तथा स्वास्थ्य समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । 

बैठकमा स्वास्थ्य क्षेत्रमा देखिएको चूनौति समस्या र समाधानका उपायका बारे स्वास्थ्य मन्त्रालयका अधिकारीसंग छलफल भएको उहाले बताउनुभयो । बैठकमा पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगन थापाले औषधी उत्पादनमा स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्न मन्त्रालयले गरेको तयारीका बारेमा जानकारी माग गरेका थिए । त्यस्तै उनले सार्वजनिक खरिद ऐन अनुसार नै मुलुक बाहिरबाट औषधि खरिद गर्ने प्रक्रियाका बारेमा पनि जानकारी माग गरेका थिए । 

त्यस्तै समिति अन्तर्गतको उपसमितिमा सोमबार पनि चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएको छ । सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिअनुसार ल्याउने भनिएको चिकित्सा शिक्षा विधेयक संसदको वर्षे अधिवेशनमा पेस हुन नसकेपनि समितिमा भने निरन्तर छलफल भईरहेको छ । डाक्टर केसीले विधेयक तत्काल पारित नभए १६ औं अनशनको चेतावनी दिएपछि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र बनाएको हो ।
 

Last modified on 2018-10-02 15:31:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts