दुर्घटनामा घाइते बनेकी तिलाको २४ घण्टापछि सफल शल्यक्रिया 



Download our app to get more features

दाङ्ग, २३ असोज । आइतबार दाङ्गको घोराहीमा दर्दनाक दुर्घटना भयो । दुर्घटना देख्नेको मात्रै होइन दुर्घटनाका बारेमा सुन्नेको समेत मुटु ढक्क फुलेको बताउँछन् । घोराही उपमहानगरपालिका–१५ शहीद उमेशमार्गको व्यस्त सडकमा रा३प ५२५८ नम्बरको मोटरसाईकल र लु४३प २४२९ नम्बरको मोटरसाईकल ठोकिए । अनियन्त्रित लु४३प २४२९ नम्बरको मोटरसाईकलले पैदल यात्री तिला परियारलाई ठक्कर दिन पुग्यो । ती महिला सरिया (फलामे रड) अनलोड गर्दै गरेको रा१त २३२० नम्बरको ट्रयाक्टरमा ठोकिन पुगिन । ट्रयाक्टरमा भएको मध्ये तीन वटा फलामे रड उनको शरीरमा पसेर बाहिर निस्कियो ।

तिला घोराही उपमहानगरपालिका–३ झिङ्नीमा बस्दै आएकी थिइन । छातीबाट छिरेका तीन वटा रड उनको ढाडबाट निस्किएका थिए । शरीरबाट बाहिरिएको रड काटेर घाइते तिलालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइयो । तर, त्यहाँ शरीरबाट रड निकाल्न सम्भव भएन । त्यसपछि तिलालाई भैरहवा रिफर गरियो । भैरहवामा पनि उपचार सम्भव नभएपछि उनलाई फलामे रडसहित काठमाडौं लगियो ।

आइतवार दिउँसो ३ बजे भएको दुर्घटनाका घाइतेको सोमबार साढे ३ बजे शिक्षण अस्पताल महाराजगंजमा शल्यक्रिया शुरु गरिएको थियो । यतिबेला सम्म तिलाको होस खुलेको थिए । शिक्षण अस्पतालका चिकित्सकको घण्टौ लामो प्रयाशपछि उनको शरीरबाट सोमबार साँझ फलामे रड निकालिएको छ । साढे ३ बजेदेखि शुरु भएको शल्यक्रिया करिब साढे दुई घण्टामा सम्पन्न भएको तिलाका आफन्तले बताएका छन् । 

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा ११ जनाको टोली सो शल्यक्रियामा सम्लग्न रहेको जनाइएको छ । रडले मुटुलगायतका शरीरका कुनै पनि संवेदनशील अंगलाई नछोएकाले घाइतेको अवस्थामा सामान्य रहेको तिलाका आफन्त जनक नेपालीले जानकारी दिए । उनले भने ‘उहाँको भाग्य बलियो रहेछ मुटुलगायत शरीरका कुनै पनि भित्री अंगमा छेडेको रहेनछ ।’ शल्यक्रियापछि तिलालाई शिक्षण अस्पतालको आइसियूमा राखेर उपचार गराइरहेको छ । 
 

Last modified on 2018-10-10 06:19:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts