सुनवल नगरपालिकामा पहिलो सुविधा सम्पन्न प्रसूति गृह सञ्चालनमा



Download our app to get more features

पश्चिम नवलपरासी, २५ असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगरमै पहिलो सुविधा सम्पन्न प्रसुति गृह स्थापना गरेको छ ।

नेपालकै पहिलो बालमैत्री नगर समेत रहेको नगरपालिकाले आफ्नै पहलमा सुनवल वडा नं. १ को वडा कार्यालय रहेको भवनमा प्रसुति गृह स्थापना गरी सञ्चालनमा ल्याएको हो । सुनवल नगरमा सुरक्षित प्रसुति गृह नहुँदा नगरबासी सदरमुकाम परासी सहित बुटवल, भैरहवा तथा भरतपुरसम्म जान बाध्य थिए ।

नगरपालिकाले २० लाख पचास हजारको लगानीमा दशजना कर्मचारी सहित प्रसुति गृह सञ्चालनमा ल्याएको हो । तालिम प्राप्त स्टाफ नर्सबाट सामान्य प्रसुति सेवा प्रदान गरिनुका साथै नियमित सुत्केरी जाँच, आईरन चक्की वितरण लगायतका सेवाहरु पनि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

प्रसुति गृहमा २४ सै घण्टा सेवा दिने गरी व्यवस्था मिलाईएको सुनवल नगर प्रमुख भीम बहादुर थापाले बताए । नगरका १३ वटै वडाका सेवाग्राहीलाई सेवा पुराउने गरी निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि गरिएको प्रमुख थापाले बताए । प्रसुति गृहको प्रदेश नं. ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरे ।

मन्त्री चौधरीले जिल्लामै स्थानीय तह आफैले सञ्चालन गर्ने गरी पहिलो प्रसुति गृह स्थापना गर्नु महत्वपूर्ण रहेको बताए । उनले यस कार्यले समृद्धिलाई संकेत गरेको दावी गरे । सडक, पुलपुलेसाको विकास स्वभाविक देखिने तर नागरिकको खुसीसँग समृद्धि जोडिने भएकोले नगरपालिकाले नजिकबाट नगरवासीलाई स्वास्थ्य सेवा पुर्याउन थालेको कमद सराहानीय भएको उनले बताए ।

अहिले प्रसुति गृहको रुपमा सञ्चालनमा ल्याएकै स्थानमा १५ शैयाको अस्पताल सञ्चालन गर्ने योजना पनि रहेको सुनवल नगरका उपप्रमुख दधिराम अर्यालले जानकारी दिए । जग्गा र बजेटको व्यवस्थापन गरी यसैवर्ष अस्पताल सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पनि थालिसकिएको उपप्रमुख अर्यालले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts