बि.पी.को.स्वा.वि. प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्ने तयारी, मन्त्री सहितको छानविन समितिले थप स्पष्टिकरण माग्यो



Download our app to get more features

काठमाडौं, २७ असोज । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४१ औं सिनेटको निर्णय अनुसार प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारीको संयोजकत्वमा गठन भएको छानवीन समितिले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले भवन निर्माण र उपकरण खरिदमा करोडांै अपचलन गरेको र पदीय दुरुपयोग गरेको निश्कर्ष निकालेको थियो । समितिको प्रतिवेदन प्रधानमन्त्री तथा कुलपति के.पी. शर्मा ओली समक्ष पेश गरेपछि गत शुक्रवार प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा दुई जना सिनेट सदस्यहरु तुल बहादुर श्रेष्ठ र प्रा.डा. गुरु प्रसाद खनाल रहने गरि प्रतिष्ठानको ऐनको दफा ११(घ) बमोजिमको समिति गठन गरेका छन् । कुलपति तथा प्रधानमन्त्रीले बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ (घ) बमोजिम गठन गरेको समितिले उपकुलपति रौनियार उक्त पदको निमित्त असक्षम रहेको,  पदको दुरुपयोग गरेको र पदीय आचरण विपरित कार्य गरेको प्रतिवेदन दिएमा ऐनको  सोही दफामा उल्लेखित प्रावधान अनुरुप प्रतिष्ठानको आगामी सिनेटको सामान्य बहुमतले निजलाई पदमुक्त गर्ने सिफारिस प्रधानमन्त्री समक्ष गर्न सक्ने छ । सो प्रकृयामा प्रधानमन्त्रीले बाध्यकारी रुपमा उपकुलपतिलाई बर्खास्त गर्नुपर्ने छ ।   

काण्डै काण्डले घेरिएको डा. रौनियारको कार्यकाल 
१. एम.आर. आइ काण्डः
आफु रेडियोलोजी विभागको प्रमुख रहँदा १२ करोडमा खरिद हुन लागेको १.५ टेस्लाको एमआरआई मेसिन प्रतिष्ठानको निमित्त अनुपयुक्त छ भनि खरिद गर्न नदिएको तर आफु उपकुलपती भए पश्चात सोही मसिन १८ करोडमा खरिद गर्ने निर्णय गरेको । यस खरिद  कार्यमा करिव साढे ६ करोड अनियमितताको आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने तयारी स्वरुप कार्यकारिणी समिति सदस्यद्वय डा. माधब लम्साल, डा. प्रभात रन्जन पोखरेल, निर्देशक डा। गौरीशंकर शाह तथा उपरजिस्ट्रार तथा खरिद मुल्यांकन समितिका संयोजक र डा रौनियारका सबै घोटालाहरुमा सेटिङ्ग गर्ने अमित श्रीबास्ताबको गत हप्ता बयान सकेको र यसै हप्ता उपकुलपति को बयान लिने तयारी भैरहेको बुझिएको छ !   

२. क्यान्सर तथा  मुटु रोग अस्पताल भवन निर्माण गर्न परामर्शदाता नियुक्ति घोटाला काण्डः प्रतिष्ठानमै निर्माणाधिन २ अर्ब १८ करोडको मातृ शिशु भवनको परामर्शदाता केज कन्सल्टेन्सीले लागतको १.४५ प्रति शुल्क लिने गरि ठेक्का पाएकोमा सोही परामर्शदाता केज कन्सल्टेन्सीलाइ ४ अरब ५० करोडको क्यान्सर तथा मुटु रोग भवन निर्माणको निमित्त परामर्शदाता नियुक्त गर्दा लागतको ४.६५ शुल्क दिने गरि ठेक्का लगाएर करिव ८ करोड अनियमितता गरेको ।

३. टुक्रे खरिद काण्डः सार्वजनिक खरिद नियमावली विपरित दोब्बरदेखि तेब्बरसम्म मूल्यमा स्थानीय ब्यापारी बेनु कोइरालाका अनेक नामका फर्मबाट करोडौंको टुक्रे खरिद कोटेसन मार्फत गरेको ।

४. भुक्तानी काण्डः नियमावली विपरित प्रतिष्ठानले गर्ने सबै भुक्तानीको चेक आफै सहि गर्ने गरेको, निर्देशक र रजिस्ट्रारलाई अधिकार विही बनाएको तथा बनाइ सबै काम डेपुटी रजिष्ट्रार तथा उपकुलपती सचिबालय प्रमुख अमित श्रीवास्त मार्फत गराएको ।

५. मातृ शिशु भवन भुक्तानीः २ अरब १८ करोडको मातृ शिशु भवन निर्माणको छानवीनको निमित्त आफै स्वास्थ्य मन्त्रालयमा उजुरी हालेको तर छानविन हुँदै गर्दा आफै २१ करोड भुक्तानी दिएको । 

समितिले माग्यो स्पष्टिकरण 
प्रतिष्ठान ऐनको दफा ११(घ) अनुरुपको समिति प्रधानमन्त्रीले तब मात्र गठन गर्छन जब प्रतिष्ठानका पदाधिकारीलाई “पद बाट हटाउने“ सहमति बन्छ । उपकुलपती रौनियारका भ्रष्टाचारका श्रृङ्खलाहरुले उनलाई नियुक्ति दिलाउने कांग्रेस नेता कृष्ण प्रसाद सिटौला र तत्कालिन स्वास्थ्य मन्त्री गगन थापा समेत आजित भएको र उनलाई बर्खास्त गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच सहमति रहेको स्रोतको दावी छ ।  यसैबीच प्रतिवेदन लेखन कार्य समाप्त हुनासाथ छानवीन समितिका अध्यक्ष स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत २०७५ आश्विन २१ गते ऐन को दफा ११ (घ) (३) अनुरुप बर्खास्त गर्नु अगाडी “सफाई दिन पाउने“ प्रावधानलाइ मध्यनजर गरि उपकुलपतिसँग ३ दिने स्पष्टिकरण माग गरिसकेका छन् । उपकुलपति रौनियारका विभिन्न अनियमिततालाई १० बुँदामा सारांश बनाइ सोधिएको  स्पष्टिकरण निम्नानुसार छ ! 

१. २ अरब १८ करोड लागतको मातृ शिशु भवनमा अनियमित तरिकाले भुक्तानी दिएको सम्बन्धमा ।
२. ४ अरब ५० करोड लागतको मुटु तथा क्यान्सर भवन निर्माणार्थ खोलिएको बोलपत्र विनाकारण रद्द गरेको सम्बन्धमा । 
३. १८  करोडमा  एम. आर. आई. मेसिन खरिद अनियमितता सम्बन्धमा । 
४. १४  करोडको फार्मेसी भवनको टेन्डरमा भएको अनियमितता सम्बन्धमा ।
५. रजिस्ट्रारलाई नियमावलीले  दिएको अधिकार कटौति गर्दै आफै प्रयोग गर्ने गरेको सम्बन्धमा ।
६. नियमावली विपरित आफै ब्याङ्क खाता सञ्चालन गर्ने गरेको सम्बन्धमा । 
७. स्टेसनरी र अन्य सामग्रीहरुको टेन्डर बिना कारण रद्द गरेको सम्बन्धमा ।
८. छानविन समितिलाई सहयोग गर्ने कर्मचारीलाइ कारवाही गरेको सम्बन्धमा ।
यी लगायतका अन्य २ अनियमितता सम्बन्धी १० बुंदे स्पष्टिकरण स्वास्थ्य मन्त्री तथा सहकुलपति उपेन्द्र यादवले उपकुलपती डा रौनियारलाई सोधेका छन् । 
 

Last modified on 2018-10-13 16:57:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts