घर आँगनमै स्वास्थ्य सेवा पाउँदा मुसिकोटका स्थानीय हर्षित



Download our app to get more features

मुसिकोट (रुकुम), २८ असोज । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । 

वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् । 

चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यहाँका १०, ११, १२, र १३ वडाका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिइएको नगरपालिकाले जनाएको छ । 

शिविरमा छाला, नाक, कान, दाँत, ग्यास्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बताइएको छ । स्त्रीरोग विशेषज्ञ डा अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचसँगै केही बिरामीलाई निःशुल्क औषधिसमेत दिइयो । 

घरआँगनमै निःशुल्क स्वास्थ्य जाँच, उपचार र परामर्शसहितको सेवा लिन पाउँदा यस क्षेत्रका बिरामी खुशी भए । स्वास्थ्यचौकी नभएका विभिन्न वडाका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुरुप नै शिविरको आयोजना गरिएको नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार चौरजहारी नगरपालिकाले स्वास्थ्यचौकीको पहुँच नभएको वडाका बिरामीलाई विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ । 

हाल चौरजहारी नगरापालिकामा तीन स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । 

 

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts