भेरी अञ्चल अस्पतालमा इन्डोर ब्लक बनाउन अर्थ मन्त्रालयको सहमति



Download our app to get more features

काठमाडौं, ९ कात्तिक । भेरी अञ्चल अस्पताल नेपालगन्जमा बिरामीका लागि आवश्यक नयाँ इन्डोर ब्लक (भवन) निर्माण हुने भएको छ । सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

शहरी विकास मन्त्री राईले जिम्मेवारी सम्हालेसँगै इन्डोर ब्लक निर्माणका लागि पहलकदमी लिँदै आएका थिए । नियमित बजेटमा रकम नछुट्टयाएको भए पनि मन्त्री राईको प्रयासमा इन्डोर ब्लकका लागि अर्थ मन्त्रालयले सहमति दिएको हो । मन्त्री राईले संसदीय चुनावमा भेरी अञ्चल अस्पताललाई ५ सय शय्याको सुविधासम्पन्न अस्पताल बनाउने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री राईको तदारुकतामा पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले यही १७ असोजमा अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही अनुसार विहीबारको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

आवास गृह निर्माणको टुङ्गो लागेन
२८ परिवार क्षमताको आवास गृह बनाउने विषयमा भने अर्थ मन्त्रालयले श्रोत अपर्याप्त रहेको भन्दै तत्काललाई सहमति प्रदान गर्न नसकिएको जनाएको छ । सहरी विकास मन्त्री राईको पहलमा यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएपछि मन्त्री राईले अब भेरी अञ्चल अस्पतालको स्तरवृद्धिकोका काम थाल्ने बताए । मन्त्री राईले भने, ‘अब भेरी अञ्चल अस्पताल पाँच सय शय्या बनाउनतर्फ लाग्छु । चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउने मेरो पहल जारी छ ।’ भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवासीय भवन र बिरामीका लागि इन्डोर भवन बनाउन १२ बर्षअघि देखि पहल भईरहे पनि सार्थक हुन सकेको थिएन । भेरी अञ्चल अस्पतालमा हाल एक सय ५० शय्या रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिए ।

बिरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता टड्कारो देखिएको अस्पतालका डक्टरहरुको भनाई छ । मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले हाल चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर ब्लकमा (दक्षिणपूर्व) बिरामीहरुका लागि ईन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए ।

 

Last modified on 2018-10-27 11:05:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts