देशभरका अस्पतालमा जाडोका बिरामी बढे, स्वास्थ्यप्रति सचेत रहन सुझाव



Download our app to get more features

काठमाडौं, १७ मंसिर । मंसिर लागेसँगै काठमाडौंसहित देशभर चिसो बढेको छ । जसका कारण देशभरका अस्पतालमा चिसो जन्य बिरामी बढेका छन् । गर्मीयाम भन्दा जाडोमा कडा खालका स्वास्थ्य समस्या देखिने हुँदा चिसोबाट जोगिन र स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । मौसम परिवर्तन र दिनानुदिन बढ्दो चिसोले देशभरका अस्पतालमा बिरामीको संख्या बढेको औल्याउँदै सतर्कता अपनाउन पनि चिकित्सकहरुले सुझाएका छन् ।

पछिल्लो एक सातामा उपत्यकाका विभिन्न अस्पतालमा मौसमी रुघाखोकी, दम, ज्वरो सहितका बिरामीको संख्या झन्डै एक तिहाई बढेको छ । दिउँसो घाम लाग्ने भएपनि बिहान र साँझ चिसो हावा चलेको कारण स्वास्थ्यमा बढि सतर्कता अपाउन चिकित्सकहरुले आग्रह गरेका छन् । यो मौसममा पहिरनमा ध्यान नदिंदा पनि श्वासप्रश्वासको संक्रमण बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।केहि दिन देखि काठमाडौंको वीर अस्पताल, महाराजगन्ज शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल सहित विभिन्न जिल्लाका स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको छ । 

चिसो  मौसममा दम, जोर्नी दुख्ने बाथ एलर्जी पिनास रुखाखोकी निमोनिया जस्ता रोगहरुको जोखिम बढी हुन्छ  । नेपालमा निमोनिया लगायतका छातीको संक्रमणले बाल मृत्युदरको सबभन्दा बढी हिस्सा ओगटेको छ । चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै संक्रमण हुने सम्भावना हुन्छ । चिकित्सकका अनुसार चिसो मौसममा चिसो हावा तापक्रम न्यून हुन्छ, कम तापक्रमले प्रतिरोधी शक्ति क्षय गर्छ र चिसो हावामा भाइरस बढी सक्रिय हुन्छन् ।  त्यसैले पनि यो मौसममा बढी साबधानी अपनाउनु पर्छ ।

अहिले  फुल फुल्ने मौसम भएकोले पनि फुलका परागहरुको एलर्जीले स्वासप्रस्वासको समस्या बढ्ने हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या अन्तर्गत दम, ब्रोङकाइटिस र निमोनिया पर्छन्। अन्य मौसममा पनि भइरहे पनि चिसोपना, धुँवाको कारण श्वास नली अझ बढी खुम्चिने हुनाले दमको समस्याले पनि जाडोमा बढी असर गर्छ । जाडो मौसममा खानपिन पहिरन र सरसफाईमा बिशेष ध्यान दिनु पर्ने र सम्भावित इन्फ्लुएन्जाबाट  बच्न साबधान हुन चिकित्सकहरुले सुझाएका छन् ।  बिरामी भएर धनजन जोखिममा पार्नु भन्दा समय मै स्वास्थ्य प्रति सजग रहनु बुद्दिमानी हुन्छ ।

Last modified on 2018-12-04 08:26:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts