स्वास्थ्य बीमा ऐन जारी भएको एक वर्षपछि बीमा बोर्डले पायो कार्यकारी निर्देशक



Download our app to get more features

काठमाडौं, २० मंसिर । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विराटनगर घर भएका पोखरेललाई नियुक्ति गरेको हो ।

स्वास्थ्य बीमा ऐन जारी भएको एक वर्षपछि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक चयन भएका हुन् । राजनीतिक खिचातानीका कारण निर्देशक चयनमा ढिलाई भएपछि सरकारले गत सोमबारको बैठकबाट निर्देशकका लागि अन्तिम ५ जनामध्येका तेस्रो नम्बरमा रहेका पोखरेललाई नियुक्त गरेको हो ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सात जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चयन गरेको थियो । गत कात्तिक ६ र ७ गते लोक सेवा आयोगले ती पाँचजना निवेदकको अन्र्तवार्ता लिएको थियो । अन्र्तवार्ताको आधारमा आयोगले पहिलो नम्बरमा दामोदर बसौला, दोस्रो नम्बरमा श्रीमान् कार्की र तेस्रो नम्बरमा रमेशराज पोखरेललाई चयन गरेको थियो । अन्तिम तीनमा छानिएकालाई आयोगले कात्तिक ७ गते नै स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको थियो ।

आयोगले सिफारिस गरेको एक महिनापछि सरकारले कार्यकारी निर्देशक चयन गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्रालयले गत भदौ २४ गते कार्यकारी निर्देशकको लागि निवेदन आह्वान गरेको थियो । 
आयोगबाट तेस्रो नम्बरमा परेका पोखरेल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् ।

बोर्डमा कार्यकारी निर्देशक नियुक्त नहुँदा पछिल्लो ४ महिनामा कुनैपनि काम हुन सकेको थिएन भने बीमा विस्तार कार्य समेत प्रभावित बनेको थियो । 
 

Last modified on 2018-12-07 11:13:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts