नसर्ने रोग न्यूनीकरणका लागि एशिया प्यासिफिक क्षेत्रका पत्रकारहरुको सञ्जाल बनाइने



Download our app to get more features

काठमाण्डौ, २३ मंसिर । एशिया प्रशान्त क्षेत्रका देशहरुमा महामारीको रुप लिँदै गरेको नसर्ने रोगहरुको न्यूनीकरणमा सशक्त भूमिका खेल्न यस क्षेत्रका स्वास्थ्य पत्रकारहरुको सञ्जाल बन्ने भएको छ ।

अघिल्लो साता सिंगापुरमा सम्पन्न सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोग रोकथाम सम्बन्धी एशिया प्यासिफिक देशका मेयरहरुको सम्मेलनका क्रममा पत्रकारहरुको सञ्जाल निर्माणको अवधारण विकास गरिएको हो ।

सञ्जाल निर्माणको अगुवाई स्वास्थ्य पत्रकार मञ्च नेपाल लगायत यस क्षेत्रका स्वास्थ्य पत्रकारका समुहहरुले लिनेछन् । सम्मेलनमा सहभागी संसदको स्वास्थ्य शिक्षा समितिका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले नसर्ने रोगका जोखिमहरुका बारेमा चेतना अभिवृद्धि गर्दै मानिसहरुको जीवनशैलीमा सुधार ल्याउन सञ्चारमाध्यमको सबैभन्दा ठूलो भूमिका रहेको बताए ।

सम्मेलनमा सहभागी स्वास्थ्य पत्रकार मञ्च नेपालका कोषाध्यक्ष उद्धवराज भेटुवालले एशिया प्रशान्त क्षेत्रमा जीवनशैलीजन्य नसर्ने रोगको जोखिमदर उच्च रहेको भन्दै स्वास्थ्य सम्बन्धी पत्रकारहरु संगठित भएर बलियो सूचना प्रवाह प्रणालीको विकास गर्नुपर्ने बताए ।

भारतको सिएनस न्यूजका स्वास्थ्य सम्पादक बबी रमाकान्तले पत्रकारहरुको क्षमता अभिवृद्धि र ज्ञान विस्तारका लागि पत्रकारहरुको साझा समूह बन्नुपर्ने आवश्यक्ता औंल्याए । नसर्ने रोग रोकथाम तथा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि यस क्षेत्रका देशरुले अपनाएका नीतिहरुको कार्यान्वयनमा पत्रकारहरुको सञ्जालले बलियो खबरदारी र सहयोग गर्ने उनको भनाइ छ ।

पत्रकारहरुको सञ्जाल बनाउन नेपाल, भारत, म्यानमार, इण्डोनेशिया लगायत देशका स्वास्थ्य पत्रकारका प्रतिनिधिहरुले काम थाल्ने सहमति जनाएका छन् ।

Last modified on 2018-12-09 14:06:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts