८ हजार स्वास्थ्यकर्मी मन्त्रालयको अभिलेख बाहिर

सबै कर्मचारीलाई व्यक्तिगत विवरण पठाउन निर्देशन



Download our app to get more features

काठमाडौ, २६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका ८ हजार स्वास्थ्यकर्मी मन्त्रालयको अभिलेख बाहिर रहेको पाइएको छ । निजामती कर्मचारी किताव खानाले उपलब्ध गराएको विवरण अनुसार ८ हजार स्वास्थ्यकर्मी मन्त्रालयको अभिलेख बाहिर रहेको पाइएको हो । 

सरकारी सेवामा आवद्ध भएपछि सबै कर्मचारीले आफ्नो व्यक्तिगत विवरण निजामती कर्मचारी किताब खानामा बुझाउनु पर्छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको ठुलो संख्याका स्वास्थ्यकर्मीले व्यक्तिगत विवरण नबुझाएका कारण आफ्ना कर्मचारी कति छन् भन्नेमा मन्त्रालय अन्यौलमा परेको छ । निजामती कर्मचारी किताब खानामा भएको अभिलेखलाई मात्रै सरकारले मान्यता दिने गरेको छ । 

कति छन् स्वास्थ्यकर्मी जानकारी नै छैन 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ हजार स्वास्थ्यकर्मी रहेका छन् । सोही संख्याका आधारमा मन्त्रालयले कर्मचारीको तलव भत्ता खर्च गर्दै आएको छ । कर्मचारी प्रशासन शाखाका उप सचिव बाबुराम लामिछानेका अनुसार स्वास्थ्य मन्त्रालय मातहत ३५ हजार स्वास्थ्यकर्मी हुनुपर्नेमा किताब खानामा भएको अभिलेख हेर्दा २७ हजार मात्रै फेला परेका छन् ।

संघीय संरचनामा जादा धमाधम कर्मचारी फाजिलमा पर्न थालेपछि मन्त्रालयले निजामती कर्मचारी किताव खानामा स्वास्थ्यकर्मीको अभिलेख हेरेको थियो । अभिलेख अनुसार ८ हजार स्वास्थ्यकर्मी बाहिर रहेको पाइएको लामिछानेले बताए । यस पटक व्यक्तिगत विवरण भर्न आग्रह गर्दा पनि नभरेको पाइए त्यसको जिम्मेवार स्वयं स्वास्थ्यकर्मी हुनुपर्ने मन्त्रालयको निश्कर्ष छ । 

कर्मचारी विवरण संकलन गर्दै मन्त्रालय
मन्त्रालयले कर्मचारी समायोजन प्रयोजनका लागि अस्थाई संगठन संरचना स्वीकृत गरी कामकाजमा कर्मचारी खटाएको थियो । हाल स्थाई रुपमा संगठन संरचना तय गरी कुनै पनि कर्मचारी फाजिलमा नपर्ने हिसावले सबै कर्मचारीको व्यक्तिगत विवरण संकलन थालिएको छ । सात बटै प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयमा परिपत्र गरेको छ । मन्त्रालयले भनेको छ, खारेजीमा परेका क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर र जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई स्वीकृत दरबन्दी अनुसार कामकाज गर्न खटाई कर्मचारी व्यवस्थापन गर्ने र खटाएको विवरण र खटाउन बाँकी कर्मचारीको विवरण संघमा उपलब्ध गराउनु होला । 

असोज १५ को पत्रद्वारा पठाएकोमा हालसम्म पनि माग गरिएको विवरण प्राप्त हुन नसकेकाले पुन ताकेता गर्नु नपर्ने गरी विवरण पठाउनु होला । हाल सम्म २१ सय स्वास्थ्यकर्मी फाजिलमा रहेको देखिएको छ भने, क्रमशः उक्त संख्या बढीरहेको मन्त्रालयको भनाई छ । स्वास्थ्य सचिव केदार बहादुर अधिकारीले फाजिलमा रहेका स्वास्थ्यकर्मीको चाडै व्यवस्थापन गर्ने बताए । 

धेरै अस्पतालहरुमा ११ औं तहको पद रिक्त रहेको छ । साथिहरुलाई काम बिहीन हुनु भन्दा केही समयका लागि भएपनि त्यहा व्यवस्थापन गर्ने योजना बनाएको छु सचिव अधिकारीले भने ।
 

Last modified on 2018-12-13 07:21:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts