'चिकित्सक फ्याक्ट्रिले उत्पादन गरेको वस्तु जस्तो हैन'



Download our app to get more features

काठमाडौं २७ मंसिर । समाजमा छुट्टै पहिचानका रुपमा चिकित्सा पेशालाई हेरिन्छ । चिकित्सा पेशा आफैमा व्यापारमुखी नभई सेवा मुलक हो । नेपाली समाजमा यहि छाप चिकित्सा पेशाले छाडेको छ । तर, पछिल्ला वर्ष चिकित्सा पेशा व्यापारिक बन्नुका साथै कुनै फ्याक्ट्रिले उत्पादन गरेको वस्तु जस्तो देखिएको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा धर्मकान्त बास्कोटाले बताए ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने नाममा हजारौं स्वास्थ्य संस्था खुलेका छन् । तर, गुणस्तरीय सेवाका नाममा जाँदै नजाने चिकित्सकको ‘नेम प्लेट’ राखेर बिरामीमाथि भ्रम छर्ने काम भइरहेको मेडिकल काउन्सिल बताउँछ । चिकित्सक आचारसंहिता बिपरित गरिएको विज्ञापनमा चिकित्सक तथा स्वयं त्यस्ता संस्थाहरु जिम्मेवार बन्नुपर्छ काउन्सिलले भनेको छ । काउन्सिलका अनुसार नामै नसुनेका चिकित्सकहरुको नाममा सेवा उपलब्ध भएको बारे अधिकांश क्लिनिकहरुले बोर्ड राख्ने गरेको पाइएको छ । कतिपयले भने चिकित्सकको अनुमति लिएरै बोर्ड राख्ने गरेका छन् ।

फ्याक्ट्रिको उत्पादन बन्दै चिकित्सक

काउन्सिल अध्यक्ष बास्कोटा भन्छन्, पछिल्ला केही समय यता रेडियो, पत्रपत्रिका र होडिङ्बोर्डहरुमा डाक्टरको नामसँग जोडिएर धेरै विज्ञापन आउन थालेको छ । एउटै चिकित्सकबाट सबै रोगको सहज उपचार गरिन्छ भन्ने जस्ता विज्ञापन आउँछन् । अध्यक्ष बास्कोटा भन्छन, 'कुनै पनि कम्पनीको विज्ञापन चिकित्सक हुन सक्दैनन् । समाजमा उनिहरुको आफ्नो छुट्टै पहिचान छ । यसरी विज्ञापन गरिनु चिकित्सक आचार संहिताको ठुलो उल्लङ्घन हो ।'

उपत्यकामा मात्रै १ हजार स्वास्थ्य सस्था संचालनमा रहेका छन् । मेडिकल काउन्सिल ईथिकल कमिटी संयोजक डा. ढुण्डिराज पौडेलका अनुसार १ हजार स्वास्थ्य सस्था मध्ये ५० प्रतिशतले चिकित्सकलाई बिना जानकारी, बिना सुचना डाक्टरको विज्ञापन गरिएको छ । बिज्ञापन गरिएका डाक्टरहरु त्यस्ता स्वास्थ्य सस्थामा उपलब्ध छैनन ।

डाक्टरलाई सिमेन्टको विज्ञापन जस्तो गरियो

प्राडा रमेशकान्त अधिकारी पूर्वडीन, चिकित्सा शास्त्र अध्ययन संस्थान

प्रा. डा. रमेशकान्त अधिकारी डाक्टरभन्दा पनि डाक्टरको नामलाई बिकाइएको छ । यो सिमेन्टको विज्ञापन गरेको भन्दा बिलकुल फरक छैन । त्यस्ता संस्थाहरुले चिकित्सकको नामलाई गलत प्रचारबाजी गरेको अवस्था छ । जुन विज्ञापनमा चिकित्सकको कुनै सहमति हँुदैन भने धेरै जसोलाई आफ्नो विज्ञापन गरेको जानकारी समेत हुँदैन । चिकित्सकको नाम जोडेर रंङ्गीबिरङ्गी बनाएर भड्कीलो विज्ञापन गर्ने परिपार्टीको विकास भएको छ । विज्ञापन गरिएका चिकित्सकको विज्ञताका आधारमा विज्ञापन गर्नुपर्छ । तर, सबै रोगको सहज र सटिक उपचार भन्ने जस्ता शब्द राखेर विज्ञापन हुन थालेका छन् । यो प्रबृत्ति रोक्न अनिवार्य भएको छ ।

आचार संहिता बिपरित विज्ञापन

डा. ढुण्डीराज पौडेल, संयोजक, इथिकल कमिटि नेपाल मेडिकल काउन्सिल

सेवाका नाममा आम नागरिकमा भ्रम सृजना हुने किसिमका विज्ञापन, होडिङ्वोड, पोष्टर आदी राख्नु चिकित्सक आचार संहिताको ठाडो उल्लघंन हो । नयाँ सेवा सुरु गर्दा, ठाउँ परिवर्तन गर्दा सामान्य विज्ञापन गर्न पाईन्छ । स्वास्थ्य सस्थामा कार्यरत चिकित्सक बाहेक अन्यको वोर्ड राख्न पाईदैन । यो चिकित्सकको मात्रै सवालको विषय हैन । यसमा स्वास्थ्य सस्थाको पनि लापरबाही छ । उपत्यकामा मात्रै १ हजार स्वास्थ्य सस्था संचालनमा रहेका छन । ती मध्ये ५० प्रतिशत स्वास्थ्य सस्थाले बिना जानकारी नाम चलेका चिकित्सकहरुको वोर्ड झुन्ड्याएका छन् । त्यस्ता क्लिनिकहरु बारे चिकित्सक स्वयम जानकार छैनन । यसमा स्वास्थ्य मन्त्रालयको पनि कमजोरी देखिएको छ ।

के छ कानूनमा

सर्वसाधारणलाई चिकित्सकको पेशा सञ्चालन गर्ने स्थानको बारेमा जानकारी गराउनको लागि निजले प्रयोग गर्ने कुनै संकेत र सूचना सुचनापाटीमा समावेश गर्नुपर्ने छ ।

सूचनापाटीलाई सजाउन पाईदैन । सूचनापाटीमा उल्लेख भएको विषयलाई पढ्नको लागी चाहिने हदसम्म प्रकाश दिन सकिन्छ । तर, रङ्गिन रुपमा झिलमिल गर्नेखालको प्रकाश दिने बत्ति वाल्न पाईदैन ।

सुचनापाटी र भिजिटिङ कार्डमा डा. उपसर्ग सहितको चिकित्सकको नाम र कुनै प्राज्ञिक ओहदा राख्न सकिन्छ । चिकित्सकले भिजिटिङ कार्डमा पेशाको नाम, काउन्सिलले स्विकृत प्रदान गरेको छोटकरी रुपमा उधृत गरिएको योग्यता, काउन्सिलले स्वीकृत प्रदान गरेको विशेषज्ञ उपाधि, नेपाल मेडिकल काउन्सिलको दर्ता नम्वर, चिकित्सक संलग्न रहेको स्वास्थ्य संस्थाको नाम र लोगो, परामसर्श प्रदान गर्ने समय, काम गर्ने स्थानलाई संकेत गर्ने चिन्ह राख्न पाईन्छ ।

चिकित्सकले कुनै खाले ब्यापार वा सेवाको प्रबद्र्धन गर्ने काममा प्रयोग भएको सूचनापाटीमा निजको नाम देखाउन मिल्दैन । अरुको सूचनापाटीमा जोडेर आफ्नो सुचना राख्न मिल्दैन ।

आचार संहिताले विज्ञापन गर्न रोक

नेपाल मेडिकल काउन्सीलले चिकित्सा व्यवसायीलाई अनैतिक र असान्दर्भिक सूचना तथा सेवालाई मान्यता दिदैन । चिकित्सकले प्रदान गर्ने नैतिक सूचना र सेवाले सेवाग्राही (बिरामी) लाई सेवाको छनौटमा सघाउ पुर्याउने विश्वास गर्दछ । चिकित्सकले चिकित्सा व्यवसायमा प्रवेश गरेको मिति, ठेगाना परिवर्तन भएमा सोको सुचना, स्थायी वा अस्थायी रुपमा व्यवसाय छाडेमा सुचना, अर्को व्यवसाय शुरु गरेमा सोको जानकारी, पुनः व्यवसाय प्रवेश गरेमा सोको विवरण सहितको जानकारी मात्रै गराउन पाइने छ । तर, आफ्नो विज्ञापन आफै गर्ने कुरालाई काउन्सिलले मान्यता दिएको छैन ।

आफ्नो पेशाको शुरुवात वा पेशागत स्थितीमा परिवर्तन भएको कुराको उद्घोष गर्न अनुमति हुन्छ । तर, त्यस्तो विज्ञापन चार हप्ता भन्दा बढी गर्न पाइँदैन । चिकित्सकले आचारसंहिता विपरित विरामीलाई आकर्षण गर्ने वा आफ्नो कामलाई बढाइचढाई गर्ने गरी निजको मेडिकल कृयाकलापहरुको वारेमा सामाजिक सञ्जालमा प्रकाशन गर्न पाउँदैन ।

Last modified on 2018-12-14 09:04:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts