गम्भीर संक्रमण फैलाउँदै राजधानीका १९ अस्पताल, नर्भिकलाई २५ लाख र ग्रीनसिटीलाई ३० लाख जरीवाना



Download our app to get more features

काठमाडौं, ४ पुस । मानव स्वास्थ्यमा प्रत्यक्ष खेलवाड हुनेगरी वातावरणीय मापदण्डको बर्खिलापमा सञ्चालन भैरहेका राजधानीका डेढदर्जन ठूला र साना अस्पताल कार्वाहीमा परेका छन् । 

वातावरणीय संरक्षण ऐन तथा नियमावली अनुरुपका मापदण्ड नपुर्याई जबर्जस्ती सञ्चालन भैरहेका राजधानीका अत्याधुनिक भनिएका अस्पताललाई समेत सरकारले जरीवाना तिराउने भएको छ । न्यूनतम वातावरणीय मापदण्ड पूरा नगरेको र पटक पटक सचेत गराउँदासमेत अटेर गर्नेमा राजधानीका ठूला कर्पोरेट अस्पतालदेखि वर्षेनी विभिन्न शीर्षकमा राज्यकोषबाट अनुदान कुम्ल्याउने सामुदायिक अस्पतालसम्म छन् । उनीहरुले वातावरणीय असरको बेवास्ता गर्दै गम्भीर प्रकृतिका फोहोर समेत नगरपालिकाको फोहोरमा मिसाउने गरेको तथ्य खुलेको छ । सरुवा तथा संक्रमक रोगको खतरा रहने त्यस्ता फोहोरहरु व्यवस्थापन गर्न वातावरण विभागले निर्देशन दिँदा समेत अटेर गर्ने १९ वटा अस्पताललाई विभागले जरीवाना तिराउन मन्त्रालयलाई सिफारिस गरेको हो । यसमध्ये कतिपय अस्पतालले त सामान्य वातावरणीय प्रभाव मूल्यांकन समेत नगरेको पाइएको छ । 

वातावरण विभागले गत कात्तिकमा उपत्यकाका २५ शैयामाथिका ४१ अस्पतालको अनुगमन गर्दा ९० प्रतिशतले न्यूनतम वातावरणीय मापदण्ड नै पूरा नगरेको फेला परेको थियो । तिनलाइ कारबाही गर्न विभागले मंसिर २४ गते नै मन्त्रालयमा पत्राचार पनि गर्यो । मापदण्ड उल्लंघन गर्ने ३९ वटामध्ये २० अस्पतालले विभागको स्पष्टीकरण र निर्देशनपछि सरसफाईमा सुधार ल्याए पनि १९ अस्पतालले अटेर गरेका छन् ।

विभागले ५ देखि २५ लाखसम्म जरीवाना तिराउनेसक्ने गरी वातावरण प्रदुषण गरेको ठहर गर्दै राजधानीका ठूलो र सुविधासम्पन्न भनिने कर्पोरेट अस्पताल नर्भिक अस्पतालले समेत गम्भीर प्रकृतिले वातावरणीय मापदण्ड नटेरेको पाइएको छ । विभागले नर्भिक अस्पताललाई वातावरण संरक्षण ऐन तथा नियमावलीको दफा १८ को उपदफा २ अनुसार भन्दै २५ लाख जरीवानाका लागि वातावरण मन्त्रालयलाई सिफारिस गरेको छ । नर्भिकसँगै बसुन्धारा स्थित ग्रीनसिटी अस्पतालले पनि वातावरणीय प्रभाव मूल्यांकन समेत नगरेको र फोहोर जभाथावी फालेको पाइएको छ । उसलाई पनि विभागले २५ लाख र पाँचलाख दुवै जरीवाना तिराउन सिफारिस गरेको छ ।त्यस्तै विभागले एभरेष्ट अस्पताल, मेडिकेयर अस्पताल चाबहिल, ग्रीन सिटी अस्पताल बसुन्धारा, अल्का अस्पताल जावलाखेल, केएमसी सिनामंगल, किष्ट मेडिकल कलेज ग्वार्को लगायत गणेशमान सिंह मेमोरियल अस्पताल एकान्तकुना, वीपी स्मृति अस्पताल बसुन्धारा लगायत सामुदायिक भनिने नेताका नाममा खेलेका अस्पताल पनि कार्वाहीको सिफारिसमा परेका छन् । 

कुन अस्पताललाई कति जरीवाना ? 
गणेशमान सिंह मेमोरियल अस्पताल  
जरीवानाः २५ लाख             
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगराएको 

काठमाडौं भ्याली अस्पताल 
जरीवानाः २५ लाख 
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगराएको

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु 
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगराएको

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, ग्वार्को 
जरीवाना: ५ लाख
दोषः फोहोर व्यवस्थापनमा हेलचेक्र्याईँ गरेको 

वीपी स्मृति अस्पताल, बसुन्धारा
जरीवाना: ५ लाख 
दोषः फोहोर व्यवस्थापनमा हेलचेक्र्याईँ गरेको

काठमाडौं मोडेल अस्पताल, बागबजार 
जरीवानाः ५ लाख 
दोषः फोहोर व्यवस्थापनमा हेलचेक्र्याईँ गरेको

ग्रीन सिटी अस्पताल, टोखा
जरीवानाः ५ लाख र २५ लाख दुवै
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको र फोहोर व्यवस्थापनमा लापर्वाही गरेको 

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको 

काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल, सिनामंगल
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको 

एभरेष्ट अस्पताल प्रालि, नयाँ बानेश्वर
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको

सशस्त्र प्रहरी अस्पताल
जरीवानाः ५ लाख 
दोषः फोहोर व्यवस्थापनमा लापर्वाही गरेको 

अल्का अस्पताल प्रालि, जावलाखेल
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको 

नर्भिक ईन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, थापाथली
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको 


नोबेल हस्पिटल प्रालि, सिनामंगल
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको

मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल 
जरीवानाः ५ लाख
दोषः फोहोर व्यवस्थापनमा लापर्वाही गरेको 
हेल्पिंग हेण्डस सामुदायिक अस्पताल, चावहिल
जरीवाना: ५ लाख 
दोषः फोहोर व्यवस्थापनमा लापर्वाही गरेको 

विनायक अस्पताल, टोखा
जरीवाना : ५ लाख
दोषः फोहोर व्यवस्थापनमा लापर्वाही गरेको 

आयुर्वेद अस्पताल, नरदेवी 
जरीवानाः २५ लाख
दोषः वातावरणीय प्रभाव मूल्यांकन नै नगरेको

जरीवानाबाट जोगाउन वातावरण मन्त्रालयभित्रै चलखेल 
वातावरण विभागले ऐनको बर्खिलाप हुनेगरी वातावरणीय असर मूंल्यांकन नगर्ने तथा जथाभावी फोहोर फाल्ने अस्पताललाई कार्वाही गर्न मन्त्रालयलाई सिफारिस गरेपनि 'माथिका मान्छे'ले कार्वाही सिफारिसको फाइल अड्काइदिएका छन् । वातावरण विभागका एकजना अधिकारीका अनुसार मन्त्रालयका केही उच्चपदस्थ अधिकारीहरुले फाइल अड्काएर अस्पतालसँग अनुचित लाभ खोजेको शंका गरिएको छ । आफु मातहतको निकायले गरेको सिफारिस कार्यान्वयन गराउनुको साटो उल्टो फाइल नै गायब बनाउने खेलमा मन्त्रालयका केही अधिकारीहरु लागेका छन् । यसअघि पनि विभागको सिफारिसलाई वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समेत अटेर गरेको थियो । 

Last modified on 2018-12-20 08:55:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts