नोबेलले भित्र्यायो पित्तनलीको पत्थरी मुखबाट निकाल्ने प्रविधि
काठमाडौं, १६ पुस । विराटनगरस्थित नोबेल अस्पतालले विना चिरफार पित्तनलीको पत्थरी (ढुंगा) निकाल्न थालेको छ । अस्पतालले हालै भित्र्याएको ईआरसीपी प्रविधिमार्फत पित्तनलीको पत्थरी मुखबाट निकाल्न थालेको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्तनलीको ढुंगा मुखबाटै निकालेको हो ।
परम्परागत रुपमा पेट र पित्तनली दुबै चिरेर पित्तनलीको पत्थरी निकाल्ने गरिन्थ्यो । ल्याप्रोस्कोपिक विधिबाट पत्थरी निकाल्दा पनि पित्तनली चिर्नैपर्ने हुन्छ । मुखबाट इण्डोस्कोप छिराएर ढुंगा निकाल्न थालेपछि बिरामीलाई निकै सहज हुने अस्पतालले जनाएको छ ।
नोबेल अस्पतालका डा. रोहितप्रसाद यादवले विदेशमा यो प्रविधिबाट उपचार निकै पहिलादेखि भइरहेपनि नेपालका लागि ईआरसीपी नयाँ भएको उनले जानकारी दिए । उनले भने ‘पूर्वी नेपालमा भने पहिलो पटक नोबेलले बिना अप्रेशन मुखबाट ढुंगा निकाल्न थालेको हो ।’
पित्तनली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने समस्या हुन्छ ।पित्तनलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीका साथै आन्द्राको क्यान्सर तथा प्यांक्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि अत्यन्तै लाभदायी हुने डा. यादवले बताए ।