आगोले पोलेको उपचार : झन् पीडादायी



Download our app to get more features

काठमाडौं, १७ पुस । जडोयाम सुरु भएसँगै देशका विभिन्न भागबाट आगलागीका समाचार पनि आउन थाल्छन् । यी घटनामा परि धेरैले जनधन गुमाएको र पोलेर गम्भीर घाइते भएका सूचना पनि सँगै आउँछन् ।

जाडोबाट बच्न विशेषगरी महिला, बालबालिका, वृद्धवृद्धा आगो वारपर झुम्मिने हुँदा यस्ता घटनाबाट उनीहरु नै बढीजसो पीडित हुने गर्छन । अझ शहरबजार क्षेत्रका कतिपय बासिन्दाले कोठा तताउन गोल बालेर सुत्दा ज्यानै गुमाउनु परेको घटना समेत सुन्नमा आउँछन् । मानिसको छाला एकदमै संवेदनशील अंग हो । छालालाई सुन्दरताको प्रतीकको रूपमा समेत लिइन्छ । आगोले पोलेर गम्भीर अवस्थामा पुग्दा पनि अस्पताल नगई धामीझाँक्री लागाउने, जडिबुटिमा विश्वास गर्दा धेरैले अपांग हुनु परेको तितो यथार्थ पनि छ ।

अवस्था विकराल छ
किरण नकर्मी, प्रमुख, किर्तिपुर अस्पताल
नेपालमा बर्न (आगोले पोलेका) को अवस्था विकराल छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार वर्षेनी करिब ५६ हजार मानिस आगोले पोलेर घाइते हुन्छ । त्यसमध्ये २२ सयले अकालमा ज्यान गुमाउँछन् । हुनत नेपालमा मात्रै नभइ आगलागीबाट घाइते हुने र ज्यान गुमाउनेको संख्या विश्वमै विकराल छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा हरेक वर्ष करिब एक लाख ८० हजारको मृत्यु पोलाइका कारण हुन्छ । यस्ता घटना न्यून र मध्यम आय भएका मुलुकमा बढी हुने गरेको छ । पोलाइ ५ प्रतिशत अपांगताको कारण समेत हो । त्यसैले गर्दा डब्लुएचओले साउथ एसियालाई बर्नको लागी ‘इपी सेन्टर’ भनेको छ ।

कारण
यसको मुख्य कारण लापरवाहपूर्ण जीवनशैली नै छ । साथै कतिपय अवस्थामा भवितव्य र दुर्घटनाबाट पनि यस्तो अवस्था आउन सक्छ । आगोसँग धेरै निर्भर रहने भएकोहरुलाई पोल्ने समस्या अझै बढी हुन्छ ।

समस्या
पोलिने मानिसहरु प्रायः गरिब हुने गरेका छन् । उपचार खर्चिलो, धेरै पटक अप्रेशन गर्नु पर्दा उपचारमा जटिल छ । सामान्य उपचार गर्दा पनि धेरै सामान, औषधि धेरै चाहिने हुन्छ भने औषधि पनि महँगो छ ।

उपचार केन्द्र कम
कान्ति अस्पतालमा पोलेर घाइते भएका बालबालिकाको उपचारका लागि एउटा मात्र शय्या भने वीर अस्पतालमा ९ शय्या छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा ५ शेय्या छ भने सुष्मा कोइरालामा पनि उपचार हुन्छ । काठमाडौको किर्तिपुरमा ५० शय्याको वर्न अस्पताल छ । तर यो शय्या संख्या बिरामीको तुलनामा निकै कम हुन्छ । काठमाडांै बाहिर वर्न सेन्टर भनेर टिम राखेर उपचार गर्ने अवस्था छैन ।
कति बिरामी एउटा अस्पतालबाट अर्को अस्पतालमा चहार्दा चाहर्दौ मृत्यु हुने अवस्था छ । कतिपय बिरामी अस्पताल पुगे पनि आइसियु नभएका कारणले उपचार सेजा पाउँदैनन् ।

सरकारले विभिन्न गम्भीर रोगका बिरामीलाई उपचारमा सहयोग गर्न लाखौं रुपैयाँ बराबरको आर्थिक सहुलियत दिने गरे पनि आगोले पोलेर घाइते हुनेहरूका लागि भने कुनै राहत दिदैन । विपन्न समुदायका घाइतेको निःशुल्क उपचारको व्यवस्था छैन । क्यान्सर, मिर्गाैला रोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर, पार्किन्सन, सिकलसेल एनिमिया गरी आठ रोगको उपचारका लागि सरकारले एक लाख दिदै आएको छ । तर, आगोले पोलेर घाइते भएकाका लागि निःशुल्क उपचार उपलब्ध छैन ।

कीर्तिपुर अस्पताल
सन् २०१३ को अन्ततिर ५० शय्याबाट सुरु भएको कीर्तिपुर अस्पतालमा हरेक वर्ष उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि भएको तथ्यांक छ  ।  सन् २०१४ मा यो अस्पतालमा जम्मा ९० जना बिरामी भर्ना भएकामा एक वर्षपछि सन् २०१५ मा दोब्बर अथवा २०३ जनाको उपचार भएको थियो । यो अस्पतालमा सन् २०१६ मा उपचार गर्नेको संख्या बढेर ३९२ पुगेको छ । यस्तै सन् २०१७ मा झनै यो संख्यामा वृद्धि भएर ४९६ जना पुगेको अस्पतालले जनाएको छ । सन् २०१८ अक्टोबरसम्ममा यो संख्या ४८८ जना पुगेको अस्पतालको तथ्याङकमा उल्लेख छ ।
पोलेर उपचारमा आउने पुरुषको तुलनामा महिला बढी छन् । ‘धेरैजसो बिरामी महिला नै हुने गरेका छन् ।’ किर्तिपुर अस्पतालको तथ्यांक विभागकी पद्मा महर्जनले भनिन् । उनका अनुसार ‘आगो सल्किसक्दा पनि लुगा फाल्न महिला लाज मान्छन् । जसले गर्दा डिप बर्न हुन्छ । घाउ गहिरो भएपछि शरीरबाट छाला निकाल्न सकिन्न, डोनर आवश्यक पर्छ । पछाडि फर्केर ढाड सेक्दा, चुलो पछाडीको सामान लिन निहुँरिदा धेरैजसो महिला आगलागीमा पर्ने गरेको चिकित्सकहरु बताउँछन् । महिलाको पहिरनले आगलागीको जोखिम झन्ै बढी हुने गरेको महर्जनको भनाइ छ ।
शरीरमा आगो लाग्दा कहिल्यै घ्यूकुमारी वा आइस दल्ने जस्ता कार्य गर्न नहुने चिकित्सकको सुझाव छ । आगो लागेमा सबैभन्दा पहिला शरीरमा जलेको कपडा छ भने तुरून्तै त्यसलाई हटाउन आनाकानी गर्नु हुन्न त्यस्तै गरगहना भएमा पनि निकाल्नु पर्छ ।
किर्तिपुर स्किन बैंक
नेपालमा सन् २०१४ सम्म ४० प्रतिशत भन्दा बढी जलेका बिरामी जोगाउन मुस्किल हुने अवस्था थियो । अहिले प्रतिशत दर केही बढेको छ । अस्पतालमा रहेको स्किन बैंकमा अहिलेसम्म १४ जनाले मृत्यृ पश्चात छाला दान गरेका छन् । नेपालमा यस्ता डोनर एकदमै कम छन् ।

के हो छाला प्रत्यारोपण ?
आगोले जलेर शरीरको भाग नोक्सान भएको छ भने त्यस्तो भागमा छाला प्रत्यारोपण गर्न सकिन्छ । यसका बारेमा धेरै मानिसलाई त थाहा नै छैन । कीर्तिपुरस्थित किर्तिपुर अस्पतालले लामो समयदेखि छाला प्रत्यारोपण सेवा दिदै आएको छ । सतही पोलाई आफैँ निको हुने भए पनि गहिरो गरी पोलेमा शल्यक्रियाद्वारा सो भागको छाला निकाली बिरामीको अर्को भागको छाला प्रत्यारोपण गर्न सकिन्छ । यसो नगरे संक्रमण भई बिरामीको मृत्यु पनि हुनसक्छ ।
शरीरको ४० प्रतिशत भन्दा धेरै भाग जलेको छ भने बिरामीको शरीरको छालाले जलेको भागलाइ राख्न नपुग्ने हुन्छ । यस्तो अवस्थामा आफन्तले छाला दान गरेमा बिरामी बचाउन सकिन्छ । नेपालको कानुनअनुसार बिरामीको नातेदारबाट मात्र छाला लिन सकिन्छ । तर, ज्युँदो मानिसको शरीरबाट छाला निकाल्दा भएको घाउ पाक्ने, पोल्ने, क्यान्सरसम्म भई ज्यानै जानसक्ने खतरा पनि हुन्छ । आगोले पोलेको बिरामीको ज्यान बचाउन अरु केही विकल्प नभेटिएको अवस्थामा मात्र आफन्तबाट छाला लिन उपयुक्त मानिन्छ ।
आँखा दान गरेजस्तै कुनै पनि व्यक्तिको मृत्युपछिको ६ घण्टाभित्र वा मृत शरीर फ्रिजमा राखेको अवस्थामा २४ घण्टाभित्र छाला दान गर्न सकिन्छ । छालालाई विभिन्न जाँचपछि औषधिमा राखेर न्युन तापक्रममा पाँच वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसरी दान गरिएको छाला अरुलाई दिन मिल्ने मात्र होइन अरुले दान गरेको छालाले हाम्रो पनि ज्यान जोगिन सक्छ । रगत लिदा मिर्गौला लिदा जसरी म्यचिङ गर्न पर्ने हुन्छ तर छाला लिदा भने म्याचिङ गर्न पर्दैन । जसको छाला पनि एक अर्कालाई मिल्छ ।

यी अवस्थामा छाला दान गर्न मिल्दैन

  • छालाको रोग भएमा ।
  • १६ वर्ष भन्दा कम उमेर भएमा ।
  • एचआईभी एड्स र हेपाटाइटिस बी, सी भएमा ।
  • कुनै पनि संक्रमणका कारण मृत्यु भएमा ।
  • कमलपित्तका कारण मृत्यु भएमा ।

अरु रोगको लागी सरकारले बजेट छुट्टाउदा यो रोगका लागी किन बजेट छुट्याएन?
आगोको जोखिममा विशेषगरी गरिब र निमुखा बढी पर्ने गर्छन । यसकारण यसलाई गरिब र निमुखा रोग पनि भन्ने गरिन्छ । फेर धेरैजसो मेडिकल डाक्टर बर्न कियर (पोलेको उपचार) गर्न पनि चाहदँैनन् । यसमा मेहेनत धेरै गर्नु पर्ने हुन्छ तर प्रतिफल न्यून हुन्छ । यसकारण यो विषय अध्यनमा पनि धेरैको रुची हुँदैन । त्यसैले यो विषयमा सकारले विशेष ध्यान दिन ढिला भइसकेको छ ।


बर्न रोग होइन यसलाई रोक्न सकिन्छ
जसवन शाक्य
मेडिकल डाइरेक्टर, सुष्मा कोइराला मेमोरियल अस्पताल
गर्मीयाममा भन्दा जाडो सुरु भएसँगै बर्न (आगोले पोलेका) को संख्या बढ्ने हुन्छ । बर्न रोग होइन यसलाई रोक्न सकिन्छ, हाम्रो देशमा आगो बाल्ने चलन छ । ग्यासबाट खाना पकाउँदा आगो लाग्ने समस्या भएकोले मानिस सुरक्षित छैनन् ।

बर्न कति प्रकारका हुन्छन् ?

  • बर्न धेरै किसिमका हुन्छन् ।
  • आगोले पोल्ने ।
  • तरल पर्दाथले पोल्ने ।
  • विद्युतले पोल्ने ।
  • केमिकल बर्न ।
  • एसिड बर्न ।
  • बर्नमा सबै भन्दा बढीको पिडित हुन्छन् ?

गरिब मुलुकमा सबै भन्दा बढी पोलिनेमा महिला र बालबलिका नै हुने गरेका छन् ।

आगोले पोलेमा यस्ता विधि अपनाऔं

  • आगोले पोलेको सामान्य घाउ छ भने त्यसलाई धाराबाट बगिरहेको चिसोपानीमा २५ देखि ३० मिनेटसम्म राख्दा धेरै फाइदा हुन्छ । यसो गर्दा घाउको दुखाइ कम हुन्छ । छाला र भित्री भागलाई बढी बिग्रनबाट बचाउँछ । साह्रै चिसो पानी वा बरफ भने प्रयोग गर्नु हँुदैन ।
  • गाउँघरमा अझै पनि पोलेको घाउँमा गोलभेडा, मञ्जन लगाउने चलन छ । मञ्जन, काक्रो लगाउँदा घाउँ निको हुने होइन तर घाउलाई चिसो बनाउँछ जस्ले गर्दा भित्र गड्न भने पाउदैन ।
  • यदि कोहि मानिस आगोले जल्दै गरेको छ भने, उसलाई बचाउँन जाने मानिसले प्रथमतः स्वयंको सुरक्षाको ख्याल गर्नुपर्छ । आवश्यक परेमा अन्य सहयोगी वा तालिमप्राप्त व्यक्तिको साथ खोज्नुपर्छ ।
  • जलिरहेको मानिसलाई आगोको स्रोतबाट हटाउनुपर्छ र जलिरहेको भए त्यसलाई रोक्नुपर्छ । मानिसलाई रोक्ने, भुइँमा सुताउने र गुडुल्काउने विधि  (कतयउ, मचयउ बलम चयिि तभअजष्लत्रगभ० अपनाउन सकिन्छ । यो विधि गाह्रो भए विकल्पमा राम्रो हुन्छ । कुनै वस्तुले छोपेर पनि बलिरहेको आगो निभाउन सकिन्छ ।
  • यदि बिरामी अचेत अवस्थामा भएमा दुर्घटना वा भवितव्यमा परेका बिरामीलाई सकेसम्म चाडो अस्पताल पुर्याउनु राम्रो हुन्छ ।
  • शरीरमा लगाएको कपडा जलेको खण्डमा त्यसलाई बिरामीबाट निकाली पोलेको भागलाई सफा कपडाले ढाक्नुपर्छ ।
  • बिरामीलाई जति सक्दो चाडो अस्पताल पुर्याएर चिकित्सकलाई सम्पुर्ण घटनास्थितिको बारेमा जानकारी दिनुपर्छ । जस्तै, जल्नुको कारण, समय, धुवाँ भएको कोठा बन्द भएको नभएको आदि ।
  • घटना भएपछिको उपचार भन्दा घटना हुनै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले आगो, बिजुली आदि चिजहरुको प्रयोग गर्दा विषेश ध्यान पु¥याउनुपर्छ । सकेसम्म त्यस्ता खतरापुर्ण वस्तु बच्चाहरूको पहुँचबाट टाढा राख्नुपर्छ ।
  •  डाक्टरले २ दिन ३ दिन पछि मात्र बर्न कति डिप छ भन्ने थाहा पाउँछन्

सुष्मा कोइराला मेमोरियल अस्पताल

२० वर्ष पुरानो सुष्मा कोइराला मेमोरियल अस्पतालमा विशेषगरी पोलेका बिरामीको उपचार हुन्छ । आगोले पोलेर अंगभंग भएकहरूको उपचार, प्लास्टिक सर्जरी, टयूमरको उपचार, जन्मजात जोडिएका हातखुट्टा छुट्टाउने, खुडेहरुका उपचार पनि गरिदै आएको छ । यस बाहेक अर्थोपेडिक सर्जरी, इन्टरल मेडिसिन र गाइनोको पनि उपचार हुँदै आएको छ । जाडो मौसममा यहाँ पोलेर घाइते भएका बिरामी दैनिक ४/५ जना हुनेगर्छन ।

पुरानै अवस्थमा फर्काउन सकिदैन
कुनै पनि शरीरको भाग एक पटक बिग्रेपछि पहिलाकै रुपमा ल्याउन सकिदैन । औला जोडिएमा छुट्याउन सकिन्छ, मुख खोल्न गाह्रो हुने, आँखा खोल्न गाह्रो हुनेको उपचार गर्न सकिन्छ । तर, अनुहारभरी पोलेको दाग छ भने पहिलाकै स्थितिमा फर्काउन सकिदैन । शरीरमा लागेको सानो दाग अझ सानो गर्न सकिन्छ । पहिलाकै रुपमा फर्काउन सकिदैन ।

सुझाब
नेपालमा रहेका सबैजासो बर्न अस्पताललाई आइएनजिओको सहयोगमा चलेका छन् । हालसम्म सरकारबाट कुनै पनि सहयोग भएको छैन । सरकारले पोकेका बिरामीलाई बचाउन ( प्रिभेन्स) मात्र केही सहयोग दिने हो भने बर्नका घटना निकै कमी आउने चिकित्सकहरु बताउँछन् ।
बर्नको उपचार निकै महँगो छ । घाउको दैनिक ड्रेसिङ गर्नुपर्ने हुन्छ । एक पटक ड्रेसिङ गर्दा धेरै नै खर्च लाग्छ । अप्रेशन त पोलाई अनुसार पटक पटक गर्नुपर्ने हुन्छ । अस्पतालको बसाइ लामो हुने भएकोले खर्च स्वाभाविक रुपमा बढी हुने गर्छ । जसको घरको अवस्था कमजोर छ उसैलाई पोल्ने भएकोले सरकारबाट पनि केही राहत भएमा बर्न हुने मानिसको जीवनयापन सहज बन्ने थियो ।
 

(हाम्रो डक्टर म्यागजिनबाट)

 

 

Last modified on 2019-01-02 07:07:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts