प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव



Download our app to get more features

राजविराज, १९ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताए । 

राजविराजस्थित उक्त अस्पतालमा स्वास्थ्यकर्मीसँगको भेटघाटका क्रममा अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको जानकारी दिँदै  अगामी फागुन १ देखि नेपाली सेनासँगको सहकार्यमा सोही अस्पतालमा वृहत निःशुल्क स्वास्थ शिविर आयोजना गरिने पनि बताए । 

सोही शिविरको पूर्वतयारीका लागि त्यहाँ पुगेका उपप्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा पाउन स्थानीयवासीले नै उचित वातावरण बनाउनुपर्ने र सोही बमोजिम सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । शिविर सञ्चालनका लागि खटाइएका चिकित्सकमध्ये को–को आए र को–को आएनन् सोको सूची तयार गरी यथाशीघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई बिदा नदिन उनले निर्देशन दिए । 

उपप्रधानमन्त्री यादवले फागुन १ गतेदेखि शुरु हुने एघारदिने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका बिरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उनको भनाइ छ । 

निकट भविष्यमै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुनलागेको जानकारी दिँदै स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोओन् भन्ने चाहनाका साथ सरकारले काम गरिरहेको पनि उपप्रधानमन्त्री यादवले जानकारी दिए। 

नेपाली सेनाका उपरथी डा शशी राईले ११ दिने शिविरमा सेनाका विशेषज्ञ चिकित्सक खटिने र शिविरमा समान्यदेखि जटिल रोगको उपचार तथा शल्यक्रिया सेवासमेत प्रदान गरिने जानकारी दिए। शिविरमा विरामी जाँच, उपचार र औषधि सबै निःशुल्क प्रदान गरिने उनले बताए । 

अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य शिविर नगरमा आयोजना हुनलागेकामा प्रशन्नता व्यक्त गर्दै नगरप्रमुख शम्भुप्रसाद यादवले शिविर सञ्चालनका लागि नगरपालिकाले पनि आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सञ्चारकर्मीको एक जिज्ञासामा “संविधान संशोधनको एजेण्डा यथावत छ, अवस्था पनि सकारात्मक बन्दै गएको छ”, उपप्रधानमन्त्री यादवले भने “जसले जबर्जस्ती गरे, तिनीहरुलाई पनि संविधान संशोधन नगरी हुन्न भन्ने महासुस भएको छ ।” रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts