धौलागिरिका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र



Download our app to get more features

म्याग्दी, १९ पुस ।  म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको सबै वडामा प्रसूति केन्द्र सञ्चालन भएको छ । 

घरमै असुरक्षित रुपमा सुत्केरी हुने र सुत्केरी हुनका लागि छिमेकी वडा, जिल्ला सदरमुकाममा पुग्नुपर्ने समस्या हटाउन गाउँपालिकाको पहलमा प्रसूति केन्द्र सञ्चालन भएको हो । गत वर्ष ५ नम्बर वडामा पर्ने मल्कवाङ र गत हप्ता चार नम्बर वडा मुदीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको हो । 

मुदीसँगै सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिए। 

यसअघि धौलागिरिको मुदी स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टरको सुविधा थिएन् । मुदीमा बर्थिङ सेन्टर शुरु भएपछि मुदी र नेरवाङका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । यसअघि गत वर्ष ५ नम्बर वडा मल्कवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो । 

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवामा सहज पहुँच स्थापित भई मातृ शिशु स्वास्थ्यमा सुधार हुने अध्यक्ष पुनले बताए । यो बर्थिङ सेन्टर सञ्चालनका लागि गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औजार, उपकरण उपलब्ध गराएको छ । 

पूर्वाधार व्यवस्थापनका लागि गाउँपालिकाबाट चालू आवमा रु एक लाख विनियोजन गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिए। एक जना तालीमप्राप्त अनमीको पनि व्यवस्था गरिएको छ । 

मुदीमा बर्थिङ सेन्टर नहुँदा यसअघि त्यहाँका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि मुना, ताकम स्वास्थ्य चौकी, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बेनी अस्पताल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । प्रसूति सेवाका लागि गाउँबाहिर जानुपर्दा रु ५० हजारभन्दा बढी आर्थिक खर्चको जोहो र हप्ताँै समय लाग्ने गरेको थियो । आर्थिकरुपमा विपन्न समुदायका गर्भवती घरमै असुरक्षित रुपमा प्रसूति हुन बाध्य थिए । प्रसूति केन्द्र सञ्चालन भएपछि समय र आर्थिक खर्चको बचत हुनुका साथै जोखिम न्यूनीकरण भएकोमा मुदीका महिला खुशी भएका छन् ।  रासस

Last modified on 2019-01-03 15:14:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts