सरकारसँग वार्ता नमिलेपछि सरकारी चिकित्सक संघ आजबाट देशव्यापी आन्दोलनमा



Download our app to get more features

काठमाडौं, २३ पुस । सरकारी चिकित्सक संघ (गोदान) ले आजबाट देशभर साङ्केतिक रुपमा आन्दोलन सुरु गरेको छ ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा चिकित्सकहरुलाई वेवास्ता गरिएको भन्दै संघले उपत्यका केन्द्रित आन्दोलन आजबाट देशभर गर्ने भएको हो । 

संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेका अनुसार आजबाट संघमा आवद्ध देशभरका सरकारी चिकित्सकहरुले कामकाज छोडेर एक घण्टा अस्पताल बाहिर धर्ना दिनेछन्  ।

हाम्रो डक्टरसँग कुराकानी गर्दै उनले सरकारले आफूहरुलाई समायोजनको क्रममा वेवास्ता गरेकोले आफूहरु आन्दोलनमा उत्रनु परेको बताए । उनले भने, ‘आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग बार्ता भएपनि खासै निष्कर्स निस्कन नसेको बताए ।’

उनले थपे, ‘कर्मचारी समायोजन अध्यादेशबाट मन्त्री आफैं अचम्ममा परेको र समायोजनमा त्रुटि भएको भन्दै स्विकार गर्नुभयो ।’

डा.पाण्डेका अनुसार मन्त्री यादवले छलफल गर्ने र संसदमा पनि यो विषय उठाउने वाचा गरेको र माग सम्बोधन हुने आश्वासन दिएका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा निजामति कर्मचारीको पद बढुवा गर्ने, वृत्ति विकासमा वृद्धि गर्ने जस्ता कुराहरु समावेश गरिएको तर चिकित्सकको हकमा सरकारले वेवास्ता गरेर चिकित्सकलाई पुरै हेपेको भन्दै गोदान आन्दोलनमा उत्रेको हो ।

समायोजन अध्यादेशअनुसार समायोजन गर्दा चिकित्सकलाई स्वतः एक तह स्तरवृद्धि गर्नुपर्ने, बाध्यकारी समायोजनको सट्टा समायोजन प्रक्रियालाई स्वैच्छिक बनाउनुपर्ने, सरकारी चिकित्सकहरुले प्रदेश वा स्थानीयमा समायोजन पश्चात निश्चित अवधिपछि संघमा आउन सक्ने बाटो खुला राख्नुपर्ने लगायतका माग राखि गोदान आन्दोलित भएको हो ।

Last modified on 2019-01-07 13:29:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts