योगेश भट्टराईको निश्कर्षः डा.केसीले सांसदलाई अपमानित गरे



Download our app to get more features

काठमाडौं, २४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफू लगायतका सांसदलाई अपमानित गरेको बताएका छन् ।

सांसद भट्टराईले वरिष्ठ चिकित्सक केसीले सोमबार बिहान पत्रकार सम्मेलनमा आफूलगायतका सांसदमाथि ‘माफियाको पक्ष लिएको’ आरोप लगाएको उल्लेख गर्दै त्यसप्रति आपत्ति र असन्तुष्टि जनाए ।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले डाक्टर केसीका टिप्पणीहरुले आफ्नै स्तर तल झारेको उल्लेख गर्दै सचेत रहन पनि आग्रह गरे ।

आफूसँग भएको सहमति विपरित शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिको बहुमतले चिकित्सा शिक्षा विधेयक पास गरेपछि वरिष्ठ चिकित्सक केसी आक्रोशित भएका छन् । सोही सम्बन्धमा पत्रकार सम्मेलन गरी उनले सांसद भट्टराई लगायतका सांसदहरुलाई ‘माफियाको पक्ष लिएको र जनतामारा काममा लागेको’ आरोप लगाएका थिए । 

समितिको बैठकमा वरिष्ठ चिकित्सक केसीको सो अभिव्यक्तिप्रति सांसद भट्टराईले आपत्ति जनाएकाथिए । समितिका सभापति, सदस्यहरु खगराज अधिकारी, भैरवबहादुर सिंह र मेरा नाम लिएर जे शब्द उच्चारण गरिएको छ, सांसद भट्टराईले भने, ‘त्यो शब्दले वरिष्ठ चिकित्सक केसीलाई जिन्दगीभर लखेटनेछ ।’

सांसद भट्टराईले पार्टीका शिर्ष नेताहरु प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालमाथि वरिष्ठ चिकित्सक केसीले प्रयोग गरेको शब्दले उनले स्तर खसेको उल्लेख गर्दै डाक्टर केसीलाई अरुको इज्जत गरेर मात्रै आफ्नो इज्जत बाँकि रहन्छ भन्ने बुझ्न पनि आग्रह गरे । 

सांसद भट्टराईले राष्ट्रिय चिकित्सा विधेयक संसदको सम्पत्ति भएकाले त्यसलाई संसदीय प्रक्रिया भित्रैबाट टुंगो लगाउने जवाफ पनि केसीलाई दिए । भट्टराईलगायतका सत्तारुढ दलका सांसदहरुले अडान लिएपछि सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरित पारित भई समितिमा पेश गरिएको छ । 

समितिको बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले भने वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै सो विधेयक समितिमा पारित हुनेपर्ने अडान राखेका थिए । उनले सरकारले निर्णय गरेर काठमाडौं उपत्यका बाहिर कलेज खोल्न सक्ने भन्दै सो विधेयकमा वरिष्ठ चिकित्सक केसीसँग भएको सहमतिको बुदा नहटाउन पनि पटकपटक आग्रह गरेका थिए ।

सांसद थापाले अडान लिएपछि समितिले सो विधेयकका सम्बन्धमा ठोस निर्णय लिन सकेन । सो सम्बन्धमा ठोस निर्णय लिन समितिले बुधबार बिहान पुन बैठक बोलाएको छ । सहमतिमै चिकित्सा शिक्षा विधेयकलाई टुंगो लगाउन बुधबार बिहान १० बजे पुनः बैठक बोलाउने निर्णय गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

उपसमितिको बहुमतले पारित गरेको सो विधेयकमा वरिष्ठ चिकित्सक केसीले आपत्ति जनाउँदै शिक्षा तथा स्वास्थ्य समितिले तत्काल नसच्याए पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

Last modified on 2019-01-09 09:21:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts