नेपाली उद्योगका १७ वटा औषधि प्रयोग गर्न रोक, सबैभन्दा बढि क्यूरेक्स फर्माका औषधि रोकियो



Download our app to get more features

काठमाडौं, १७ माघ । औषधि व्यवस्था विभागले विभिन्न ८ वटा नेपाली कम्पनीले उत्पादन गर्ने ९ प्रकारका औषधिको बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।

विभागको प्रयोगशालामा आएका नमूना परीक्षण गर्दा ती औषधिहरु न्यून गुणस्तरीय पाइएका हुन् । विभागले सूचना जारी गर्दै ती औषधिहरुको प्रयोग एवं बिक्रि वितरण नगर्न सार्वजानिक अपिल गरेको हो । विभागका अनुसार सबैभन्दा बढि क्यूरेक्स फर्मास्यूटिकल्सले उत्पादन गर्ने पोभिन नामक पोभिडोन आयोडिन सोलुसनका सातवटा व्याच नै गुणस्तर परीक्षणमा असफल भएका हुन् । जुका एवं छालामा हुने संक्रमणका विरुद्ध प्रयोग हुने सो औषधिको प्रयोगमा तत्काल रोक लगाउन विभागले निर्देशन दिएको छ ।

त्यस्तै, लेवेन ल्याव्रोटरिजले बनाउने ज्योलो पी नामक पोभिडन आयोडिनपनि गुणस्तरहीन पाइएको हो । यही विशिष्ठता भएको रियल हाइजिन नामक कम्पनीले बनाउने रेलडाइन नामको औषधि पनि न्यून गुणस्तरीय पाइएकाले बिक्रि वितरणमा रोक लगाइएको छ । त्यस्तै ओम फर्मास्यूटिकलले बनाउने लोटेम्प ब्राण्ड नाम भएको बच्चालाई दिइने पारासिटामोल ओरल सस्पेन्सनको पनि तीनवटा व्याच गुणस्तरहीन पाइएको छ । मनोज फर्मास्युटिकलले बनाउने मोनामोल नामको पारासिटामोल ट्यावलेटमा पनि कैफियत भेटिएको विभागको सूचनामा उल्लेख छ । त्यस्तै, लेवेन ल्याव्रोटरिजले बनाउने केल्भिन नामक ५०० एमजीको पारासिटामोल ट्यावलेट, केमिड्रग इन्डष्ट्रिजले बनाउने पोलार नामक पारासिटामोलपनि प्रयोगका लागि अनुपयुक्त देखिएको हो । समी फर्मास्युटिकलले बनाउने मेगाफोल भनिने फोलेट सप्लिमेन्ट फोलिक एसिड ट्यावलेट पनि न्यून गुणस्तरीय भएपछि उल्लेखित औषधिको प्रयोग र बिक्रिवितरणमा रोक लगाइएको हो ।

यस्तै आर्या फर्मास्युटिकलले बनाउने मुपिर ओइनमेन्ट नामक औषधिको एमपीजिरोवान व्याचलाई बजारबाट तुरुन्त फिर्ता गर्न विभागले सूचित गरेको छ । यस औषधि बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनाबाट गुणस्तरहीन भएको पाइएको हो ।

Last modified on 2019-02-01 08:21:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts