भरतपुर अस्पतालमा डायलासिस गराएका पुरूष कोरोना संक्रमण मुक्त भएर घर फर्किए



Download our app to get more features

चितवन, १५ साउन । भरतपुर अस्पतालमा डायलासिस गराएका संक्रमित पुरूष कोरोनामुक्त भएर घर फर्किएका छन् । 

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ का ३३ वर्षीय ती पुरूष कोरोनामुक्त भएर घर फर्किएका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

उनका अनुसार असार १७ गते अस्पताल भर्ना भएका ती पुरूषमा असार २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ९ गतेको रिपोर्टमा ती व्यक्ति कोरोनामुक्त भएका भए पनि अन्य उपचार पश्चात् दुई दिन अघि घर भर्किएका हुन् ।

नियमित बिरामी, स्वास्थ्यकर्मी र बिरामीको आफन्तलाई कोरोना संक्रमणबाट जोगाएर उपचार गर्नु चुनौतीपूर्ण भएता पनि उचित व्यवस्थापनका कारण त्यो सम्भव भएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए । अस्पतालको कोभिड आईसीयूमा बिरामी रहेकै ठाउँमा छुट्टै मेसिन जडानगरि सम्पूर्ण व्यवस्था मिलाएर उहाँको डायलासिस गरिएको उनले जनाए । सम्भवतः नेपालमा संक्रमितलाई यसरी सेवा प्रदान गरेको पहिलो हुन सक्ने उनको भनाइ छ ।

कोभिड– १९ मेडिकल टिम, डायलासिस युनिट र अन्य स्वास्थ्यकर्मी लगाएतको सामूहिक प्रयासबाट उहाँको उपचार सम्भव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । ‘अन्य नियमित डायलासिस गराउनु पर्ने बिरामीलाई सेवा प्रभावित नहुनेगरि छुट्टै व्यवस्था गरिएको थियो ।’ उनले भने– ‘आगामी दिनमा समेत यस्ता बिरामी आउँन सक्ने हुँदा छुट्टै व्यवस्था गरिएको छ ।’ ती पुरूष डिस्चार्ज भएता पनि दुई हप्ता उनी घरमा नै क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए । कोरोनामुक्त भएता पनि नियमित डायलासिस भने गराउनु पर्ने उनले बताए । 

अस्पतालले सबै प्रकारका सावधानी र सचेतना अपनाएर छुट्टै व्यवस्था गरेका कारण सुरक्षित तरिकाले डायलासिस गर्न सकिएको डायलासिस वार्डकी इन्चार्ज सुनिता आचार्यले बताईन् । ती पुरूषको संक्रमण पुष्टि हुनु भन्दा पहिले दुई पटक सहित जम्मा छ पटक डायलासिस गरिएको उनले जानकारी दिईन् । अस्पतालमा एक सय छ जना बिरामीले नियमित डायलासिस गराउँदै आएका थिए । अहिले दुई जना थपिएसँगै अब नियमित डायलासिस गराउने बिरामीको संख्या एक सय ८ जना पुगेको उनले बताईन् । लकडाउनको समयमा समेत डायलासिस नियमित रूपमा सञ्चालनमा रहेको थियो । लकडाउनको समयमा टाढाबाट आउनु पर्ने बिरामीलाई विशेष समस्या परेको उनले बताइन् ।

साउदी अरबबाट फर्किएका ती मिर्गौला रोगी पुरूषलाई दोस्रोपटक कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । उनी त्यहीँ नै कोरोना संक्रमण भएर निको भएपछि नेपाल आएका थिए । उनले त्यहाँ रहदादेखि नै नियमित डायलासिस गराउर्दै आएको बताइएको छ ।

Last modified on 2020-07-30 19:02:50

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts