कोरोना महामारीले दियो खतराको संकेतः प्रदेश २ मा संक्रमण र मृत्युदर उच्च, सरकारको संयन्त्र कमजोर



Download our app to get more features

जनकपुर, १९ साउन । प्रदेश नम्बर २ कोरोना संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र हो । कोरोना महामारीको चपेटामा प्रदेश २ का काठ वटै जिल्ला आइसकेको छ भने संक्रमितको संख्या ५ हजार नजिक पुगिसकेको छ । प्रदेश नम्बर नेपालकै पहिलो प्रदेश बनेको छ जहाँ कोरोना संक्रमितको दर पाँच हजार नजिक पुगेको हो । हालसम्म ४ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ भने १९ जनाको मृत्यु भएको छ ।

प्रदेश २ को सुरुदेखि नै पर्सा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । वीरगञ्जमा साउन महिनामा मात्र १० जना भन्दा धेरैको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको अवस्थामा आजदेखि जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको छ ।

पर्सामा बालबालिकादेखि पत्रकार, वृद्धवृद्धा, व्यवसायी, युवा, वयस्क, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी लगायत सबै वर्ग कोरोनाको चपेटामा आइसकेको छ । अव्यस्थित क्वारेन्टाइन, भारतसँगको खुल्ला सीमाना, जनशक्तिको अभाव र मानिसहरुमा सचेतनाको कमीले पर्सा सुरुदेखि नै कोरोना संक्रमणको हट स्पट बन्दै आएको छ ।

तर, विगत केही देनिदेखि पर्सामा यात्रा विवरण नभएकाहरु र पीपीई प्रयोगसहित उपचारमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको छ । यसै विषयमा थप अध्ययन र अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका निर्देशक डा दिपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पर्सामा खटाएको छ ।

टोली आइतवार नै पर्सा पुगिसकेको र काम सुरु गरिरसकेको छ । पर्सामा पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरुको विवरण, स्वास्थ्य अवस्था, स्वास्थ्य पूर्वाधार लगायतका विषयमा अध्ययन गर्ने काम टोलीले गर्नेछ ।

यसैबीच, धनुषाको जनकपुर उपमहानगरपालिका सहित केही स्थानमा आज रातिदेखि निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उपमहानगरपालिका सहित केही क्षेत्रमा कोरोना कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको भन्दै आज मध्य रातिबाट निषेधाज्ञा लागू हुने प्रजिअ भट्टराईले बताए ।

उनी भन्छन्, ‘जनकपुर प्रादेशिक अस्पतालका कर्मचारी, नर्स, डाइलासिस केन्द्रमा खटिएका कर्मचारी, बैंकका कर्मचारी र अन्य व्यक्ति जसको कुनै यात्रा विवरण छैन उनीहरुमा कोरोना संक्रमण देखिएको छ । यसबाट प्रष्ट हुन्छ की समुदाय स्तरमै कोरोना फैलिएको हो ।’

पछिल्लो केही समय यता प्रदेश २ र ५ का विभिन्न क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको भन्दै चिन्तित बनाएको छ । सरकारले सुरुमा यात्रा विवरण भएकाहरुमा कोरोना संक्रमण देखिने गरेको भनेमा पछिल्लो समय यात्रा विवरण नभएकाहरुमा कोरोना संक्रमण देखिन थालेपछि समुदायस्तरमै कोरोना फैलिसकेको स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

यदि समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको छ भने त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा चुनौती बढाउने र भयावय स्थिति निम्तिन सक्छ । जनस्वास्थ्य विज्ञ कृष्ण नागिलाका अनुसार सरकारले अझैपनि संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा चासो नदिएका कारण स्थिति भयावह बन्दै गएको छ । अझैपनि संक्रमितहरु क्वारेन्टाइनमै छन् भने उपचारमा खटिएकाहरुमा कोरोना संक्रमण देखिदा त्यस क्षेत्रमा थप जनशक्ति खटाउन नसक्नु सरकारको कमजोरी रहेको उनको भनाइ छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले स्थिति नियन्त्रणभन्दा बाहिर गए दोहोर्याएर मुलुकभरि नै लकडाउन गर्न सकिने बताए । मानिसहरुमा अझै सेचतनाको कमी रहेकाले आवतजावत गर्ने, भिडभाड गर्ने, सरकारको निर्देशनलाई अटेर गर्ने गरेको हुँदा त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न लकडाउन एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

प्रदेश २ कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपनि प्रदेश र केन्द्र सरकारले त्यसतर्फ खासै ध्यान नदिएको देखिन्छ । केन्द्र सरकारले अझैपनि समुदायस्तरमा कोरोना फैलिएको विषय प्रमाणित हुन नसकेको भन्दै त्यस क्षेत्रमा थप जनशक्ति परिचालन गर्नु पर्छ भन्ने कुनै तयारी गरेको देखिँदैन । यसले सरकारको संयन्त्र कमजोर रहेको प्रष्ट भएको विज्ञहरुको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts