प्लाज्मा थेरापीका लागि ३ नीजि अस्पताल तोकिए, प्लाज्मा लिने र दिनेका लागि यस्ता छन् मापदण्ड



Download our app to get more features

काठमाडौं, १९ साउन । नेपालमा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका विभिन्न निजी तथा सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबारे काम सुरु गर्न लागेको छ ।

यसअघि नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना कोरोनाका कारण गम्भीर बनेका बिरामीको प्लाज्मा थेरापीबाट सफल उपचार गरिएको थियो ।

परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले कोरोना संक्रमणसँगको विभिन्न अध्ययन अनुसन्धानको क्रममा प्लाज्मा थेरापी विधिबाट सुरु गरिएको बताए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमतिमा जिन सिक्वेन्सींगका साथै प्लाज्मा थेरापीबाट कोरोना संक्रमणका कारण गम्भीर बनेका बिरामीका लागि उपचार सफल भएको र हुने गरेको बताए ।

गत जेठमा नै मन्त्रालयबाट अनुमति पाएपछि यस विषयमा थप अध्ययन अनुसन्धान गरेर नेपालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमणका कारण गम्भीर बिरामीको उपचार गर्न सफल भएको डा ज्ञवालीको भनाइ छ ।

प्लाज्मा दान गर्न चाहने र प्लाज्मा माग गर्ने बिरामीका लागि विभिन्न मापदण्ड तय गरिएको भन्दै उनले निजी तर्फ तीन वटा अस्पताल र सरकारी तर्फ ११ वटा अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भइरहेको बताए ।


डा ज्ञवालीका अनुसार मापदण्ड अनुसार प्लाज्मा दान गर्ने दातालाई अस्पतालले उमेर, लिंग, अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको मिति, गर्भवति भए नभएको, रगतको समूह र सम्पर्क नम्बर र ठेगानाबारे जानकारी गराउनुपर्ने हुन्छ । 

उनले प्लाज्मा दिने र लिने दुबैको सूचना गोप्य राख्नुपर्ने पनि बताए ।

निजी तर्फ ग्राण्डी इन्टरनेशनल हस्पिटन, नेपाल मेडिटिसी हस्पिटल र ह्याम्स अस्पताल रहेका छन् भने सरकारी तर्फ धुलीखेल अस्पताल, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कोशी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल, भेरी अस्पतालल, सेती अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायाणी अस्पताल रहेका छन् ।

बिरामीको चाप अनुसार अस्पताल परिवर्तन हुन सक्ने पनि डा ज्ञवालीले बताए ।

यस्तै दाताका लागि तोकिएको मापदण्डहरु आरटी पिसिआर विधिबाट कोरोना संक्रमण भएको निश्चित हुनुपर्ने, रगत दान गर्नुभन्दा १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएको, रक्तदान गर्दा नेपाल रेडक्रसको मापदण्ड पूरा गरेको हुनुपर्ने हुन्छ भने प्लाज्मा लिने व्यक्तिहरुको उमेर १८ वर्ष पूरा भएको, आरटी पिसिआर विधिबाट कोरोना संक्रमण भएको निश्चित हुनुपर्ने, बिरामीको अवस्था गम्भीर हुनुपर्ने, अस्पतालमा भर्ना भएर उपचार गराएको हुनपर्ने वा चिकित्सकले बिरामीको ज्यान जोखिममा भएको पुष्टि गर्नुपर्ने हुनुपर्छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १५ स्वाब संकलन गरि नेपालमा पहिलो पटक जिन सिक्वेन्सिंगको काम पनि सुरु हुन लागेको डा ज्ञवालीले बताए । उनले २ साताभित्रमा नतिजा आउने पनि जानकारी दिए ।

Last modified on 2020-08-03 17:04:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts