हेपाटाइटिस सीकाे सुलभ उपचार सम्भव



Download our app to get more features

हेपाटाइटिस सी कलेजोको क्यान्सर सिरोसिसको प्रमुख कारकका रूपमा चिनिन्छ । प्राय: लागूपदार्थको प्रयोग र असुरक्षित टाटुबाट हेपाटाइटिस सी सर्ने गर्छ । करिब हजार साधारण नेपालीमध्ये ४ देखि ६ जना व्यक्तिमा यो रोग देखिने गरेको छ । तर लागूपदार्थ प्रयोग गर्ने व्यक्तिमा यो रोग करिब ७०–८० प्रतिशतमा देखिने गरेको छ । 

सुरुको अवस्थामा हेपाटाइटिस लागेका व्यक्तिमा केही लक्षण देखिँदैन । तर धमिराले काठ खाएजस्तै यसले कलेजो बिस्तारै—बिस्तारै क्षति पुर्‍याउँछ ।

१५–२० वर्षको अन्तरालमा कलेजोमा क्रमश: खत बस्दै जान्छ । कलेजो पूर्णरूपमा कडा हुनजान्छ । यो अवस्थालाई सिरोसिस भनिन्छ । यस्तो स्थितिमा कलेजोको काम गर्ने क्षमतामा विस्तारै ह्रास आउँछ । पेट सुन्निने, जन्डिस देखापर्ने, समय—समयमा अचेत हुने तथा रगत बान्ता हुनेजस्ता लक्षण देखापर्न थाल्छन् । सिरोसिस भैसकेपछि कलेजोमा क्यान्सर उत्पन्न हुने खतरा निकै नै बढ्ने गरेको पाइन्छ ।

१ वर्ष अगाडिसम्म यस रोगको उपचार पद्धति निकै जटिल हुने गथ्र्याे । यस रोगको उपचारका लागि इन्टरफेरन इन्जेक्सन र रिबाभारिन नामको औषधी प्रयोग गरिन्थ्यो । यस उपचार प्रविधिमा १६ हप्तादेखि ४८ हप्ता समय लाग्ने र विभिन्न प्रकारका साइडइफेक्ट हुने गर्थे । तीन लाखदेखि छ लाखसम्म खर्च हुने यो उपचार पद्धतिबाट करिब ५०–६० प्रतिशत व्यक्तिमा मात्र प्रभावकारी हुन्थ्यो । हेपाटाइटिस सीबाट सिरोसिस भैसकेको अवस्थामा यो उपचार निकै खतरायुक्त हुने गर्छ र यस प्रकारका औषधीका कारण ज्यानकै खतरा पनि हुने गर्छ ।

तर, केही वर्षयता यस रोगका लागि धेरै नयाँ औषधी आविष्कार भएका छन् । तीमध्ये सोफोस्बुभिर नामको औषधीले हेपाटाइटिस सीको उपचारमा धेरै परिवर्तन ल्यायो । लगत्तै डाक्लाटाजाभिर र लेडिपास्भिर नाम गरेका दुईथरी औषधी पनि 
पत्ता लागे । यी नयाँ औषधीको प्रयोगबाट इन्टरफेरन इन्जेक्सन र साइडइफेक्ट बिना छोटो समयमा ९५ देखि सय प्रतिशत व्यक्तिमा हेपाटाइटिस सी पूर्णरूपमा निर्मूल हुने गरेको देखियो ।

यी चामत्कारिक औषधीको आविष्कारले विश्वभरि नै हेपाटाइटिस संक्रमित व्यक्तिमा नयाँ सम्भावना र आशा पलायो । तर यी औषधी पश्चिमी मुलुकमा मात्र उपलब्ध थिए र औषधी प्रयोग गर्न प्रमुख बाधक यसको मूल्य थियो । दैनिक करिब ९ सय डलर (करिब ९० हजार नेपाली रुपैयाँ) पर्ने यी औषधी ३ देखि ६ महिनासम्म प्रयोग गर्न पश्चिमी मुलुकमा पनि स्वास्थ्य बिमा नभएकाहरूलाई हम्मेहम्मे पर्ने गर्छ । 

यस प्रकारका उपचार पद्धति र मूल्यका आधारमा साधारण नेपालीले यो औषधी कहिले पनि प्रयोग गर्न पाउँदैनन् र आधुनिक चिकित्सा केवल विकसित राष्ट्रका लागिमात्र हितकारी हुने भान पथ्र्यो । तर यी औषधीहरू पत्ता लगाएर बिक्री गर्न थालेको ‘गिलियड लाइफसाइन्स’ले जेनेरीक एग्रिमेन्ट प्रावधानबाट विकासोन्मुख राष्ट्रहरूलाई सस्तो र न्युन मूल्यमा यी चमत्कारी औषधी बनाउन र बेच्ने अनुमति दियो । यसको परिणामस्वरूप नेपालमा विगतका केही महिनादेखि यी औषधी पश्चिमी मुलुकको १ प्रतिशत मात्र मूल्यमा उपलब्ध हुन थालेका छन् ।

सोफोस्बुभिर, डाक्लाटाजाभिर र लेडिपास्भिरको प्रयोगबाट १२ हप्तामा करिब ९५ प्रतिशत व्यक्तिमा हेपाटाइटिस पूर्णरूपमा निर्मूल हुने गर्छ । यो जीवाणुका जातअनुसार (जेनोटाइप २, ३) हेपाटाइटिस सी भएसो फोस्बुभिरर डाक्लाटाजाभिर १२ हप्तार (जेनोटाइप १) हेपाटाइटिस सी भएसो फोस्बुभिर र लेडिपास्भिर १२ हप्तासम्म प्रयोग गर्दा ९५ प्रतिशतमा निको हुने गरेको पाइन्छ ।

यसअघि हेपाटाइटिस सीका कारणकले जोकोसिरोसिस र जलग्रह भएका व्यक्तिमा कुनै उपचार नै सम्भव थिएन । तर यि नयाँ औषधी त्यस्ता बिरामीमा पनि सजिलै प्रयोग गर्न सकिने भएको छ र यस्तो स्थितिमा कहिलेकाहीं कलेजो प्रत्यारोपण गर्नपर्ने अवस्थाबाट पनि बच्न सकिन्छ । पुराना पद्धतिका इन्टरफेरोनभन्दा यी नयाँ औषधीको साइडइफेक्ट पनि नगन्य पाइएको छ ।

पुराना हेपाटाइटिस सीको उपचार पद्धतिभन्दा अहिलेको नयाँ उपचार पद्धति कम खर्चिलो, कम साइडइफेक्ट तथा बढी प्रभावकारी देखिन्छ । नेपालमा हेपाटाइटिस सी भएका बिरामीका लागि सोफोस्बुभिर लगायतका औषधी यति न्युन मूल्यमा पाउनु चमत्कार नै मान्नुपर्छ ।

कान्तिपुर दैनिकमा कलेजो रोग विशेषज्ञको लेख छ ।

Last modified on 2016-07-19 17:19:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts