सामान्य ठान्दा गर्भावस्थामा हेलचेक्र्याइँ



Download our app to get more features

सामान्य अवस्थामा खासै असर नपुग्ने सामान्य समस्या पनि गर्भावस्थाको वेलामा असामान्य हुन सक्छ । अन्य समयमा रुघाखोकी लाग्ने, टाउको तथा पेट दुख्ने सामान्य समस्या नै हो । तर, गर्भावस्थाको वेला यस्ता सामान्य पीडाले पनि ठूलै जोखिम निम्त्याउन सक्छ । आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैले सामान्यभन्दा सामान्य समस्यामा पनि गर्भावस्थामा रहेकाहरुले हेलचेक्र्याइँ गर्नुहुँदैन । स्वास्थ्यकर्मीसँग निरन्तर सम्पर्कमा रही उपचार गराइरहनुपर्छ । गर्भावस्थाको समयमा देखिने सामान्य समस्या र उपचारका तरिकाबारे स्त्रीरोग विशेषज्ञ डा.बबिता थापाका सुझाव यस्ता छन् :

सामान्य अवस्थामा लाग्ने रुघाखोकीले गर्भावस्थाको समयमा पनि सताउने गर्छ । अन्य समयमा वास्ता नगर्ने बानीले गर्भावस्थामा पनि निरन्तरता पाउने सम्भावना हुन्छ । तर, यो जोखिमपूर्ण पनि हुन सक्छ । रुघाखोकीले फोक्सोमा समस्या पार्ने हुँदा आमा र बच्चा दुवैलाई असर गर्छ । त्यसैले स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार गर्नुपर्छ ।

गर्भावस्थाका बेलामा हातखुट्टा सुन्निे तथा टाउको दुख्ने समस्या भएमा रक्तचाप बढ्ने सम्भावना हुन्छ । यसरी रक्तचाप बढ्दा आमा र बच्चाले पाउने पोषणमा गडबड हुन सक्छ । धेरै टाउको दुख्नु र आँखा धमिलो हुँदै जानुपनि उच्च रक्तचापको संकेत हो ।

गर्भावस्थामा दिनमा दुई देखि तिनपटक सम्म बमिट हुनु समस्या होइन । तर, लगातार धेरै बमिट हुन्छ भने खतराको लक्षण हुन सक्छ । २२ हप्ताअघि लगातार बमिट भएमा त्यसले आमालाई जलवियोजन गराउँछ । जसले आमा र बच्चा दुवैलाई पोषण पुग्दैन । २२ हप्तापछि लगातार बमिट हुन्छ भने त्यो उच्च रक्तचापको संकेत पनि हुन सक्छ ।

गर्भवती हुँदा पेटमा असजिलो हुँदा पेट दुखेको भनेर अस्पताल पुग्ने गर्छन् । केही असजिलो हुनुलाई पेट दुखेको भनिएको हो भने खासै ठूलो कुरा होइन । तर, साँच्चै पेट दुखेकै हो भने खतराको संकेत हुन सक्छ । पेटमा साल बच्चाबाट छुट्टिएर बसेको छ या बच्चा ठीक ठाउँमा छैन भने यस्तो लक्षण देखिन सक्छ ।

गर्भ बसेको सात–आठ महिना पुगेपछि पेट दुख्दै छोड्दै गर्नु भनेको व्यथा लाग्ने संकेत हो । ३४ हप्ताभन्दा कम उमेरको बच्चा बचाउन कठिन हुन्छ । यो समयमा पेट बढी दुख्ने गरेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ ।


 

Last modified on 2017-09-02 13:59:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts