सरकार ‘दही च्यूरे’ भएर चल्दैन : डा. श्रेष्ठ



Download our app to get more features

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकार ‘दही च्यूरे’ भएको आरोप लगाएका छन् । रिपोर्टस् क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष डा. श्रेष्ठले नेशनल मेडिकल कलेजको सम्बन्धनका विषयमा सरकारले दही च्यूरे व्यवहार देखाएको बताए ।

सरकारले मेडिकल कलेज संचालनमा तत्काल सम्बन्धन नदिनेगरी चिकित्सक संघसँग सम्झौता गरेको थियो । तर नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिनु सरकारको दही च्यूरे व्यवहार भएको उनको भनाइ छ । डा. श्रेष्ठले भने ‘हामीसँग सम्झौता पनि गर्ने र कलेज सञ्चालनका लागि सम्बन्धन पनि दिने ?’ सरकारले चिकित्सक संघसँग उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने सम्झौता गरेको थियो । तर, सम्झौता विपरित सम्बन्धन दिएर बेइमानी गरेको उनको आरोप छ । 

नेशनल मेडिकल कलेजलाई सरकारले ‘मुर्गा’ बनाएको समेत उनले बताए । उनले भने ‘सरकारले सम्बन्धन दिन खोजेको अरु कलेजलाई हो, नेशनललाई सम्बन्धन दिएर वातावरण कति चिसो वा तातो छ भनेर जाँचेको मात्रै हो ।’ सम्बन्धन नै दिने हो भने पाँच वटा कलेजलाई दिन्छु भनेर सरकारले किन भन्न नसक्ने ? उनले थपेँ ‘यसमा हाम्रो कुनै आपत्ती छैन । तर हामीसँग भएको सम्झौताविरुद्ध राज्यले बेइमानी गरेको छ ।’ 

कार्यक्रममा काठमाडौं नेशनल मेडिकल कलेजका अध्यक्ष डा. बसुरुद्धिन अन्सारीले कानून विपरित नगएको र कलेजले सम्बन्धन मात्र पाएको बताए । ‘कलेजले पहिलो खुड्किलो मात्रै पार गरेको हो । अझै तीन खुड्किला पार गर्न बाँकी छ ।’ उनले भने । 

सम्बन्धनपछि नेपाल मेडिकल काउन्सिलले अनुमतिका लागि अनुगमन गर्ने, शिक्षा आयोग, शिक्षा मन्त्रालयलगायतको अनुमति पनि आवश्यक रहन्छ । उनले भने ‘काउन्सिलले पूर्वाधार पुरा नभए रोक्न सक्छ । त्यसैले सम्बन्धन पाउँदैनमा तुरुन्तै कलेज सञ्चालन गर्ने होइन ।’

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले सरकारले काउन्सिललाई निरीक्षण गर्न भनेपछि मात्र निरीक्षणमा गएको बताए । तर, प्रक्रियामा जानु भनि सरकारले हालसम्म पत्राचार नगरेको उनले बताए । उनले भने ‘यसमा काउन्सिलको कुनै भूमिका रहँदैन । जबसम्म सरकारले हामीलाई आदेश दिदैन ।’ काउन्सिलले हेर्ने भनेको उक्त भवनमा कलेज सञ्चालन गर्न योग्य छ छैन, छ भने कति सिट दिने, कहिलेदेखि सञ्चलन गर्ने हो, शिक्षकहरू पर्याप्त छ छैन, बिरामी छ छैन हेर्ने मात्र हो । जसको आधारमा बन्द गर्ने वा सञ्चालन गर्न सिफारिस गर्ने प्रवक्ता डा. अधिकारीले बताए । 
 

Last modified on 2017-08-31 18:27:50

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts