स्वास्थ्यमा विकृति

फोकसको शाखा विस्तार गैरकानुनी 

जनस्वास्थ्यको निर्देशन पनि टेरेन



Download our app to get more features

विराटनगर, १९ भदौ । विराटनगरको हस्पिटल चोकमा केन्द्रीय कार्यालय रहेको फोकस रिफरेन्स डाइग्नोष्टिक सेन्टर प्रा.लि.ले स्वीकृतविनै शाखा विस्तार गरि सेवा सञ्चालन गरिरहेको छ ।

फोकसले जिल्ला जनस्वास्थ्य कार्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको स्वीकृतविनै विराटनगरका तीन ठाउँमा शाखा विस्तार गरी सेवा सञ्चालनमा ल्याएको हो ।

शाखा विस्तार गर्नको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडांै र जिल्लाको हकमा जनस्वास्थ्य कार्यालयले आवश्यक पूर्वाधार, निर्देशिकाले तोकिएको मापदण्ड पुरा गरेको निरीक्षण गरेपछि मात्र सञ्चालनको लागि स्वीकृत दिने प्रावधान छ । तर, केन्द्रीय कार्यालय विराटनगरमा रहेको फोकसले स्वीकृत बेगर विराटनगरको रानी, कञ्चनबारी र पुष्पलालचोकको शाखामार्फत सेवा सञ्चालन गर्दै आएको छ  ।

निर्देशिका ०७३ अनुसार ल्याबहरूले शाखा विस्तार गर्न नपाउने तर संकलन केन्द्रमार्फत सेवा दिन पाउने प्रवधान छ । संकलन केन्द्र स्थापना गर्नको लागि पनि जनस्वास्थ्य कार्यालय र राष्ट्रिय प्रयोगशालाबाट स्वीकृति लिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले बताए । फोकसले भने तीन ठाउँमा सञ्चालनमा ल्याएको संकलन केन्द्र नभएर शाखा कार्यालय रहेको बोर्डमा उल्लेख छ ।

फोकसले थप शाखा सञ्चालन गर्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा निवेदन दिएको थियो । तर, जनस्वास्थ्य कार्यालयले स्वास्थ्य प्रयोेगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धी निर्देशिकाको दफा ११ (१) देखि ११(४) सम्म शाखा तथा संकलन केन्द्र संचालन सम्बन्धी व्यवस्था प्रक्रिया नपुगे भन्दै ३० दिन भित्र फोकसको शाखा कार्यालयको ल्याब बन्द भनेको थियो । जनस्वास्थ्यले बन्द गर्न पत्रचार गरेको ३० दिन बितिसक्दा पनि फोकसले भने शाखा कार्यालयबाट सेवालाई निरन्तरता दिइरहेको छ । अनुगमन गर्ने निकाय जनस्वास्थ्यले बन्द गर्न पत्रचार गरे पनि पुनः अनुगमन गर्न नसक्दा फोकसले कार्यालय निर्वाध संचालनमा ल्याइरहेको छ । ‘फोकसले थप सेवा विस्तार गरेको शाखा बन्द गर्न पत्रचार गरेका छौं,’ जनस्वास्थय प्रमुख मेहताले भने, ‘अनुगमन गर्दा सञ्चालनमा आएको पाइए बन्द गर्छौं ।’

निर्देशिका अनुसार नै चलेका छौं : फोकस
फोकस रिफरेन्स डाइग्नोष्टिक सेन्टर प्रा.लि.का मेनेजिङ डाइरेक्टर प्रकाश बर्माले फोकसको शाखालाई संकलन केन्द्रमा लैजाने प्रक्रियामा रहेको बताए । ‘हामीले निर्देशिका अनुरुप संकलन केन्द्र सञ्चालन गरेका हौं ।’ उनले भने, ‘हामीले थप गरेको संकलन केन्द्रको स्वीकृतको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
टेकु काठमाडौंमा निवेदन दिएका छौं ।’ उनले प्रयोगशालका कर्मचारी ६÷६ महिनमामा निरीक्षण गर्न आउने भएकाले स्वीकृति लिन केही समय ढिलो भएको बताए । संकलन केन्द्रका लागि सम्पूर्ण पूर्वाधार तयार रहेको उनको दाबी छ ।

फोकसको शाखा बन्द गर्न विभागसम्म चिठी
जनस्वास्थ्य कार्यालयले फोकसको शाखा कार्यालय बन्द गर्न बोधार्थ स्वास्थ मन्त्रालय चिकित्सा सेवा महाशाखा काठमाडौं, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका र पूर्वाञ्चाल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटामा समेत पत्राचार गरेको छ । जनस्वास्थयले पत्रकार गरेको एक महिना बढी हुँदा पनि फोकसले भने अटेर गर्दै शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

जनस्वास्थ्य कार्यालयले फोकसको शाखा कार्यालय बन्द गर्न पढाएको चिठी ।

Last modified on 2017-09-05 07:24:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts