नेपाल औषधि उत्पादक संघको साधारण सभा सम्पन्न, अध्यक्षमा दाहाल चुनिए



Download our app to get more features

काठमाण्डौ । नयाँ कार्यसमिति चुन्दै नेपाल औषधि उत्पादक संघको २३ औं साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभाले संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक प्रसाद दाहाल सहित कार्यसमिति नै सर्वसम्मत चयन गरेको छ । चयन भएको नयाँ कार्यसमितिमा नारायणवहादुर क्षेत्री वरिष्ठ उपाध्यक्ष बनेका छन् । प्रथम उपाध्यक्षमा दीपक प्रधान, महासचिवमा प्रज्वलजंग पाण्डे एवं कोषाध्यक्षमा प्रभात रुंगटा चयन भएका छन । नयाँ कार्यसमितिका सदस्यहरुमा पृथ्वीराज भण्डारी, महेश प्रधान, विप्लव अधिकारी, सन्तोष बराल, सुर्वण जोशी छानिएका छन् । त्यस्तै कार्यसमितिमा स्थायी आमन्त्रित सदस्यका रुपमा प्रेम जातिया आएका छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

साधारण सभाको समापन कार्यक्रम राजधानीको सोल्टी होटलमा आयोजना भएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष शंकर घिमिरेले दाहाललाई कार्यभार सुम्पिएका हुन् । नवनियुक्त अध्यक्ष दाहाल नेपाली औषधि उत्पादनको क्षेत्रमा क्रियाशिल पेशाकर्मीका रुपमा चिनिन्छन् । अध्यक्ष बनेसँगै उनले नेपालको औषधि उत्पादनलाई दुई वर्षभित्र १०० अर्बको बनाउन सकिने बताए । हाल नेपाल औषधिको बजार करिब २५ अर्बको मात्र छ ।  राज्यले औषधि उत्पादन, बजारीकरण सम्बन्धी नीतिलाई सुधार गर्नुपर्ने उनले बताए । 

कार्यक्रममा उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले औषधि उद्योगको क्षेत्रको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने बताइन् । उनले राजनीतिक स्थिरतासँगै देश आर्थिक सम्वृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरिन् । साधारणसभाको समापन सत्रमा बोल्दै औषधि उद्योगी समेत रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकले उद्योग र व्यापारलाई विभिन्न अस्पष्ट ऐन र नियमका आधारमा नियमन गर्न नसक्दा देशमा अराजकता बढेको र लगानीको असुरक्षा भएको टिप्प्णी गरे । 

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला बजार अर्थतन्त्र भएको मुलुकमा राज्यका सबै अंगबाट उद्योगी व्यापारीलाई निरकंश व्यवहार देखाउने गरेको भन्दै गुनासो गरे । 

Last modified on 2017-11-11 13:05:51

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts