शरीरमा पानीको मात्रा कम हुनाले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या



Download our app to get more features

बुटवल, २९ कात्तिक । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलामा समस्या देखिएको पाइएको छ । 

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो । 

स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गाैलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिए । 

खासगरी किसान केन्द्रित यो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उनले बताए । यसमध्ये पनि अधिकांस ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलामा समस्या देखिएको छ । 

ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यहोरामा सुधार नहुनु र अनावश्यक तनावजस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको डा. बस्नेतले बताए । उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको समेत उजले बताए । 

उनले मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको समेत बताए । 

सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले नेपाल किड्नी फाउण्डेशनले देशका ग्रामीण क्षेत्रमा यस किसिमले निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिए । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन यो निःशुल्क शिविर सञ्चालन गरिएको छ । 

उनले रुपन्देहीका तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट झण्डै एक हजार २०० जनाले निःशुल्क सेवा प्राप्त गरेको र यसक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिए । 

रासस

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts