​आईसीयु नर्सहरुको सेवालाई एकरुपता ल्याउन अन्तर्राष्ट्रिय सम्मेलन



Download our app to get more features

काठमाण्डौ, २ मंसिर ।  आईसीयुमा कार्यरत नर्सहरुलाई एकीकृत गरी उनीहरुको सेवालाई  गुणस्तरीय र व्यवसायीक बनाउने उद्देश्यकासाथ नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । 

क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको सम्मेलनमा नेपालभरका सरकारी तथा निजी अस्पतालमा कार्यरत आईसीयु नर्सहरुले सहभागिता जनाएका छन् । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत मुलुकबाट आएका १२ जना सिनियर नर्सहरुले आईसीयु नर्सको योग्यता, भूमिका, कर्तव्य, सक्षमता र दक्षताबारे पेपर प्रस्तुत गरेका थिए । यस्तै सम्मेलनमा नेपालका विभिन्न अस्पतालमा कार्यरत २० जना नर्सिङ प्रमुखको पनि प्रस्तुति थियो । 

नेपालको आईसीयु सेवालाई गुणस्तरीय बनाउन नर्सिङ सेवा पनि महत्वपूर्ण रहने हुँदा यस्तो सम्मेलनको खाँचो नेपालमै परेको एसोसिएसनका अध्यक्ष मीना पुनले बताइन । ‘नेपालको चिकित्सा सेवा जस्तै नर्सिङ सेवाको गुणस्तरीयताबारे पनि आवाज उठाउनु पर्ने देखिएको छ,’ पुनले भनिन,‘ नर्सिङ सेवा स्तरीय भए बिरामीको पनि जीवन रक्षा हुन्छ ।’

सम्मेलनमा सम्मानित भएकी नेपालको पहिलो आईसीयु नर्स रामेश्वरी श्रेष्ठले विकासका आयामहरुलाई पछ्याउँदै नर्सहरुले बिरामीको सेवा गर्न आवश्यक रहेको बताइन । ‘सबैभन्दा पहिले हामीले बिरामीलाई माया गर्नु पर्छ । त्यसपछि उनीहरुलाई विकसित प्रविधिबाट सेवा दिन सक्षम हुनुपर्छ । त्यसका लागि नयाँ ज्ञान र सीपलाई आत्मसात गर्नु हाम्रो कर्तव्य हो,’श्रेष्ठले भनिन,‘हामी बिरामीका लागि नर्स बनेको हो भने जस्तो सुकै परिस्थितीमा उनीहरुलाई स्तरीय सेवा दिनुपर्छ ।’ उनले  झर्को नमानी बिरामीको अनवरतरुपमा सेवा गर्नु नै नर्सको कर्तव्य भएको बताइन । सम्मेलनमा नेपाल भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत मुलुकबाट आएका सिनियर नर्सहरुको सहभागिता थियो ।
 

Last modified on 2017-11-19 08:05:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts