विशिष्ठ व्यक्तिले लगेको उपचार रकम फिर्ता गर्नुपर्छ: गगन थापा



Download our app to get more features

काठमाडौं, १९ पुष । विशिष्ठ व्यक्तिलाई राज्यकोषबाट स्वास्थ्य उपचारमा दिएको सहयोग रकम फिर्ता गर्न पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले माग गरेका छन् ।

राज्यकोष दुरुपयोग गरेर पूर्व सभामुख तारानाथ रानाभाट लगायत सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीलाई सरकारले गरेको आर्थिक सहयोग रकम फिर्ता गर्नुपर्ने नेता थापाको भनाइ छ ।

नेता थापाले बुधवार ट्वीटमा भनेका छन् ‘सरकारले विशिष्ठ व्यक्ति उपचार सहायतासम्बन्धी कार्यविधि पूर्णतः कार्यान्वयन गर्दै ‘जस्केला’बाट दिइने सहायतामा रोक लगाउनुपर्छ र हालै पूर्व सभामुखलगायतलाई राज्यकोषबाट आर्थिक सहायता दिने गरी भएको निर्णय अविलम्ब फिर्ता गर्नुपर्छ ।’

उनले आफ्नो कार्यकालमा राज्यका विशिष्ठ व्यक्तिहरूको उपचारार्थ राज्यकोष दुरुपयोग रोक्ने प्रयास गरेको दावी पनि ट्वीटर मार्फत गरेका छन । तर उनी नै स्वास्थ्य मन्त्री हुँदा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपचारार्थ सरकारले ५० लाख भन्दा बढी रकम दिएको थियो ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको कार्यविधि,
१. पूर्व एवं बहालवाला विशिष्ठ पदाधिकारीले नेपालमा उपचार सम्भव हुने रोगको नेपालभित्रै उपचार गर्नुपर्ने ।

२. नेपालमा उपचार हुन नसक्ने रोगको हकमा मेडिकल बोर्डको सिफारिसमा मात्रै त्यस्ता व्यक्तिका लागि अर्थ मन्त्रालयको सहमति र स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले अधिकतम १५ लाख रुपैयाँसम्म उपचार सहायता उपलब्ध गराउने ।

३. कुनै एक व्यक्तिलाई त्यस्तो सहायता एक पटकको लागि मात्र उपलब्ध गराउन सक्ने ।

निजी खर्चमा जुनसुकै देशमा उपचार गर्ने स्वतन्त्रता भए पनि राज्यकोषबाट रकम लिएर पहुँचवालाले विदेशमा उपचार गर्न जाने प्रवृत्ति गलत रहेको उनले बताए । सर्वसाधारण जनताले देशभित्र सहज उपचारबाट समेत वञ्चित हुने अवस्था अन्यायपूर्ण र विभेदकारी भएको भन्दै उनले यो लोकतन्त्रको मूल्य मान्यता विपरीत रहेको जनाएका छन् ।

मन्त्रिपरिषद्को ६ मंसिरमा सम्पन्न बैठकले पूर्वसभामुख रानाभाटलाई ७ लाख र सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीलाई ५ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्रालयले दुबैलाई उक्त रकम हस्तान्तरण गरिसकेको छ ।

 

Last modified on 2018-01-04 08:55:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts