नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परामर्श केन्द्र
काठमाडौं, १९ पुष । ग्रान्डी इन्टरनेशनल हस्पिटलले काठमाडौँको नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) स्थापना गरेको छ ।
नयाँ बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) बुधबारबाट सञ्चालनमा ल्याएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो सेवा केन्द्रको उद्घाटन गर्दै यस्तो सेवाले काठमाडौं भित्रिने र बाहिरिने यात्रुले आफ्नो स्वास्थ्यबारे परामर्श गर्न पाउने बताए ।
सो सेवा केन्द्रमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ग्रान्डी इन्टरनेशनल हस्पिटलबाट खटिएका स्वास्थ्यकर्मीले सेवा दिनेछन् । यसका लागि छुट्टै खर्च लाग्दैन ।
सो सेवा केन्द्रबाट सर्वसाधारणले रक्तचाप, मधुमेहको परीक्षण, सामान्य खालका चोटपटकको प्राथमिक उपचार, सामान्य ज्वरो, रुघाखोकीको औषधि लिन पाउने छन् ।
केन्द्रबाट सामान्य स्वास्थ्य समस्याका औषधि निःशुल्क दिने व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले बताए । केन्द्रमा आउने बिरामीलाई ग्लुकोज, पेन किलर लगायतका औषधि पनि निःशुल्क दिइनुका साथै आकस्मिक रुपमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स पनि राखेको अध्यक्ष कुँवरले जानकारी दिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।